काठमाण्डाै – सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को सुरुवात आजदेखि भएको छ ।
काठमाण्डाैकाे दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने सरकारको तयारी छ । भ्रमण वर्षको राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो ४ बजे औपचारिक शुभारम्भ गर्नुहुनेछ भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने छ ।
समारोहमा सांस्कृतिक कार्यक्रम पनि हुनेछ । राष्ट्रिय गान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । आजै भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गर्ने कार्यक्रम रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । भ्रमण वर्षको सातै प्रदेशका मुख्य मन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नेछन् ।