धार्मिक तपोभूमि नेपालमा हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी शुक्रबारबाट आरम्भ हुँदैछ । आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गर्दछन् । यो वर्त पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ । सत्य युगमा भगवान विष्णुको कृपा अनुसार हिमालय पुत्री पार्वतीले महादेव पति पाउ भनी श्रीस्वस्थानी व्रत बसेको कथा छ ।
व्रतको नियम
प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमाका दिनदेखि यस व्रतको सुरुवात हुन्छ । पौष शुक्ल चतुर्दशीको दिन हातखुट्टाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर व्रतको आरम्भ गर्नुपर्दछ । यसरी पवित्र भएर हविष्य (दुध दहि, जौं, गौं चामल, तिल घ्यू, सख्खर इत्यादीको सात्विक पदार्थहरू) भोजन ग्रहण गर्नुपर्दछ । सोहि दिन श्रीस्वस्थानी माताको स्थापना/पूजा स्थान सरसफाई गरी लिपपोत गर्नु पर्दछ । व्रतकाल भरी भूमिमा शयन गर्नु पर्दछ । दिनको एक छाक मात्र सात्विक भोजन ग्रहण गर्नु पर्दछ । व्रत समापन नहुन्जेल पुरुष ब्रतालुले रौं काट्न हुदैन । यस एक महिनाको अवधिमा सत्य बोल्ने, झगडा नगर्ने जथाभावी नहिँड्ने र एकभक्त भएर ईश्वरको पूजामा सामेल हुनुपर्छ भन्ने मान्यता रहि आएको छ ।