२०७९ चैत्र २ गते बिहिवार
२०७९ चैत्र २ गते बिहिवार

अवैध उत्खनन्‌को विरोध गर्ने युवकको हत्या, राजमार्ग अवरुद्ध

जनकपुर । अवैध गिट्टी बालुवा उत्खनन्‌को पटक–पटक विरोध गर्दै आएका युवकलाई ट्रिपरले किचेर हत्या गरिएको छ। धनुषाको औरही खोला उत्खनन्‌को विरोधमा प्रहरी प्रशासन सम्म पुगेका युवकलाई सोही खोलामा ट्रिफरले किचेर शुक्रबार हत्या गरीएको स्नीयको आरोप छ।धनुषाको मिथिला नगरपालिका–५ श्रीपुर बस्ने राम जीवन महतोको २४ वर्षीय छोरा दिलीपकुमार महतो ओमप्रकाशको औरही खोलामा ट्रिपरले किचेर हत्या भएको हो। शुक्रबार बिहान साथी रोशन यादवसँग खोलामा मोर्निङ वाक गएको समयमा ना ७ ख ६४१३ नम्बरको ट्रिपरले किचेको थियो।

घटना लगतै इलाका प्रहरी कार्यालय ढल्केवरको टोली पुगेर शव नियन्त्रणमा लिई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ। ट्रिपर इलाका प्रहरी कार्यालय ढल्केबरले आफ्नो नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक राममेश्वर कार्कीले जानकारी दिए। घटनाको प्रकृति हेर्दा नियोजित रुपमा ट्रिपरले किचेर दिलिपको हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए। यता घटनाको विरोधमा गाउँलेले पूर्व–पश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेका छन्। मिथिला नगरपालिका ५ श्रीपुर रामलक्ष्मण चोकमा स्थानीयले टायर बालेर राजमार्ग अवरुद्ध गर्दै दोषीलाई कारवाहीको माग गरेका छन् ।