२०७७ फाल्गुन १३ गते बिहिवार
२०७७ फाल्गुन १३ गते बिहिवार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

२५ पुस, । चितवन र तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार गोरखाको भिमसेन थापा गाँउपालिका–४ का ३५ वर्षीय इन्द्रबहादुर तामाङ र सोही ठाँउका २५ वर्षीय सुगम तामाङ रहेका छन् । राप्ती नगरपालिका–६ हर्दीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नम्बरको ३–०२–००५ प ४३४७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख ४६६० नम्बरको ट्याङकरले बिहीबार राति ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका दुबै जनाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी तनहुँको घिरिङ गाउँपालिका–३ थानीमाईमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । शुक्रबार बिहान १० बजेतिर रामपुरबाट भिमादहुँदै पोखरा जाँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा घिरिङ १ बैंडीकी २० वर्षीया मुना थापा र घिरिङ ३ निवासी ४२ वर्षीया ननीमाया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जानकारी दिएको छ । बस सडकबाट करिब ४० मीटर तल भीरमा खसेको प्रहरीले जनाएको छ।