दाङ, पुस २५ । सरस्वती माध्यमिक विद्यालय भरतपुर दाङमा सूचना प्रविधि बिषय (आई.टि) मा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । आइ.टी तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी आइ.टी पहिलो बर्ष र आइ.टी २४ महिने कार्यक्रम अध्ययनका लागि आएका विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।
आइ.टी तेस्रो बर्षका छात्र भानुभक्त घर्ति मगरको अध्यक्षता एंव विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिवेक श्रेष्ठको प्रमुख आतिथ्यता र विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले विद्यालयको भौतिक प्रगतिसँगै शैक्षिक गुणस्तर बृद्धिका लागि ब्यवस्थापन समितिले कार्ययोजना बनाई अघी बढ्ने योजनामा रहेको जानकारी दिनुभयो । कार्यक्रमका बिशिष्ट अतिथि प्रधानाध्यापक पौडेलले विद्यालयलाई आइ.टी हवका रुपमा बिकास गर्ने गरी कार्यक्रमहरु सञ्चालन तथा थप कक्षा चलाउने गरी काम भइरहेको बताउनुभयो ।
छात्रा हरिकला भुसालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्य तिलक रावत, विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश डाँगी, विद्यार्थीहरु बिशाल चौधरी र बिकास लम्साल लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण छात्रा नम्रता के.सी. ले गर्नु भएको थियो ।