२७ पुस, काठमाडौं । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आईतबार देशभर पृथ्वी जयन्ती मनाइँदै छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकिकृत गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।
सरकारले पृथ्वी जयन्तीको अवसरमा विगतमा सार्वजनिक बिदा दिइने गरेको थियो । तर, पछिल्ला केही वर्षयता उक्त बिदा कटौती भएको छ । यद्यपि, राजनीतिक दलसँगै नागरिकस्तरबाट पृथ्वी जयन्ती मनाइने गरेको छ । यस वर्ष पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदैछन् ।