२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणमा सहयोग जुटाउन माघ १९ गतेदेखि महायज्ञ

चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग जुटाउन आउँदो माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा निर्माण भइरहेको रङ्गशाला निर्माण सम्पन्न गर्न महायज्ञबाट ५० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेको छ । मूल वाचकका रुपमा पण्डित दिनबन्धु पोख्रेल रहनुहुने छ । रङ्गशाला निर्माणस्थलमा नै महायज्ञ लगाइँदै छ । पछिल्लो समय रङ्गशाला निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ ।

धुर्मुश सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणले निरन्तरता पाएको जानकारी दिनुभयो । मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदै छ । रङ्गशालाको आकार आउने गरी काम अघि बढेको छ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ । रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएकोे छ । रङ्गशाला सम्पन्न गर्न दुई अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।