दाङ, १ माघ । आज दाङ सहित देशका विभिन्न जिल्लामा माघे संक्रान्ति पर्व मनाईंदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले अबदेखि दिनभन्दा रात छोटा हुँदै जान्छन् । दाङ सहित देशका विभिन्न धार्मीम स्थलहरुमा माघ स्नान गर्ने भक्तजनको घुईंचो लागेको छ ।
तराईका बासिन्दाले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । माघे सङ्क्रान्तिमा घ्यु, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यि परिकारले जाडोमा न्यानो र उर्जा दिने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यस्तै थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ मनाउने गर्छन । थारु समुदायले आज स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउदै छन् । माघको पहिलो दिनदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते देखि थारु समुदायले जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा मार्फत आशीर्वाद लिने गर्दछन् ।
बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउने र धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । माघीको दिन तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले माघीका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता थारु समुदायमा रहेको छ । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा छ ।
गाउँका मुखिया, महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबैले माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि नेताको छनोट गरिन्छ । थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी पनि भनिन्छ । विशेष गरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ ।