२०७७ मङ्सिर १८ गते बिहिवार
२०७७ मङ्सिर १८ गते बिहिवार

गायिका आस्था राउतलाई छानबिनमा उपस्थित नभए पक्राउ गरिने

काठमाडौं, ३ माघ । गायिका आस्था राउतमाथि प्रहरीले छानबिन थालेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतसँग भएको विवादको समयको सीसीटीभी फुटेजसहित लिखित निवेदन महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा दिएकी हुन्।

विमानस्थलमा गायिका राउतसँग भएको भनिएको घटनाबारेमा प्रहरी जवान श्रेष्ठले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा लिखित जानकारी गराएपछि अनुसन्धान अघि बढाइएको हो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता किरण बज्राचार्यले गायिका राउतसँग जोडिएको यो घटनाबारेमा प्रहरी जवान श्रेष्ठसँग सोधपुछ पनि गरिएको बताइन्। उनले यस बिषयमा थप जानकारी लिन गायिका राउतलाई बोलाइने जानकारी दिइन्। यदि उनी नआए चाँडै पक्राउको प्रक्रिया सुरु गरिने बज्राचार्यले जानकारी दिइन्।

राउत र प्रहरी जवानबीच भएको भनिएको विवादको सीसीटीभी फुटेज पनि बाहिरिएसँगै घटनाले नयाँ मोड लिएको छ। झापा हुँदै दार्जिलिङ जाने क्रममा बुधबार त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुव्र्यवहार गरेको आरोप गायिका राउतले लगाएकी छन्। उनले सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई जथाभावी गालीसमेत गरेकी थिइन्।