२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

के–के आकर्षण हुनेछन् तुलसीपुर महोत्सवमा ?

तुलसीपुर, ३ माघ । तुलसीपुरमा सुरु हुन लागेको तुलसीपुर महोत्सवको तयारी तिब्र रुपमा अघि बढेको छ । महोत्सवको उद्घाटन गर्न पर्यटनमन्त्री योगेश भट्टराइ दाङ आउने कार्यक्रम तय भएको छ । पर्यटन मन्त्री भट्टराई संगै महोत्सव उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष भवानी राणा, पुर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष चन्द्र ढकाल सहित प्रदेश र जिल्ला नगरबाट करीव एक सय पचास भन्दा बढि उद्योग वाणिज्य संघमा आवद्ध नेताहरु सहभागि हुने निश्चित भएको छ । उद्घाटन कार्यक्रममा नेपाल भ्रमण बर्ष २०२० का संयोजक सुरज बैद्य पनि सहभागि हुने छन् ।

चार सय स्टलको व्यवस्थापन सहित महोत्सवमा साना तथा मझौला व्यवसायीलाइ प्रोत्साहन गर्ने बताइएको छ । स्थानिय उत्पादनको बजारीकरणमा महोत्सव केन्द्रित हुने छ । पर्यटनसंग जोडिएका विविध महत्वका क्षेत्रहरुको हेलिकोप्टरबाट अवलोकन गर्ने सम्मको व्यवस्थापन गरिएको आयोजक कमिटिका स्टेयरीङ कमिटिका संयोजक विमल रिजालले बताए ।

‘हामी नेपाल भ्रमण बर्षमै केन्द्रित रहेर यो महोत्सव लगाउंदै छौं, महोत्सवमा बचेको आम्दानी हामीले सुरु गरेको वहुआयामिक सभाहललाइ मुर्तता दिन खर्च गरीने छ’, रिजालले भने । यो महोत्सव यस अघिका भन्दा भिन्नै हुने पनि बताए । किनकि यस अघिका महोत्सवमा धेरै पैसा वाहिरिएको अवस्था थियो । ‘आन्तरीक पर्यटनलाइ बढावा दिन र यहिंका व्यवसायीलाइ पनि राहतको अनुभुति दिने उदेश्यले स्टल भाडा समेत निर्धारण गरिएको छ’, रिजालले भने, स्थानियलाइ कम्तिमा २५ प्रतिसत छुटको समेत व्यवस्थापन गरीएको छ । महोत्सवमा स्वास्थ्य क्षेत्र, खेलकुद क्षेत्र, योगा, तथा पर्यटनलाइ विशेष स्थान दिइएको छ ।

मिनिम्याराथुनदेखि हेलिकोप्टरबाट समेत पर्यटकिय गन्तव्यको अवलोकनको व्यवस्थापन गरिएको छ । महोत्सवलाइ भव्य र सभ्य बनाइ दाङ जिल्लामै पर्यटकिय गन्तव्य बनाउन पनि केन्द्रित गरीने छ । एक दिन भएपनि वाह्य पर्यटकको बसाइकालागी पनि महोत्सव केन्द्रित हुने बताइएको छ । ‘यो महोत्सव पर्यटनबाट पनि आर्थिक समृद्धि खोज्नकालागी हो, त्यसैले यहांका पर्यटकिय संभावनाका विषयमा महोत्सवमा बृहत प्रस्तुती हुने छ’,महोत्सव मुल आयोजक कमिटिका संयोजक रावतले भने ।

यसैबीच दाङ जिल्ला उद्योग वाणिज्य संघले पनि तुलसीपुर महोत्सवमा सक्रिय सहकार्य रहेको बताएको छ । स्थान विशेषलाइ महत्व दिनुभन्दा पनि समग्र दाङको पर्यटनलाइ संबोधन गर्दै तुलसीपुर महोत्सव सुरु हुन थालेकोमा आफुहरुको सक्रिय सहभागिता हुने दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले बताए । ‘स्थान तुलसीपुर हो, तर यो महोत्सव समग्र दाङबासीकै हो, यसमा सक्रिय सहभागिता जनाउन जिल्लाका सवै उद्योग वाणिज्य संघहरुलाइ आह्वान गर्दछु’,अध्यक्ष भुषालले भने ।

यता नेपाल पत्रकार महासंघ दाङले पनि तुलसीपुर महोत्सव सफल पार्न आह्वान गरेको छ । मंगलवार पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन सहित तुलसीपुर महोत्सव स्थलमा पुगेको टोलीले महोत्सव सफल पार्न जिल्लाका सवै सञ्चार माध्यमहरुले सहयोग गर्न आह्वान गरेको हो ।