२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

‘एमसीसीमा सैन्य मामिला छैन’–अमेरिकी दूतावास

४ माघ, काठमाडौँ । एमसीसीको बारेमा जनस्तरमै पक्षविपक्षमा व्यापक तर्क उठेपछि काठमाडौंस्थित दूतावासले शुक्रबार दसबुँदे विज्ञप्ति जारी गरेर एमसीसीमा कुनै सैन्य मामिला नजोडिएको बताएको हो ।अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै सैन्य गठबन्धन नभएको जनाएको छ ।

दूतावासले अमेरिकी कानुनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेध गरेको दाबी गरेको छ । उसले एमसीसीलाई ‘विशुद्ध रूपमा आर्थिक विकासमा केन्द्रित’ भनेको छ । ‘नेपालमा विद्युत‌् प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत आर्थिक विकासमा सघाउने एमसीसी परियोजनाको लक्ष्य छ,’ विज्ञप्तिमा भनिएको छ ।

सत्तारूढ नेकपाभित्रै एमसीसी ‘चीनविरुद्ध लक्षित’ इन्डो–प्यासिफिक रणनीतिको अंग भएकाले उसँग भएको परियोजनासम्बन्धी सम्झौता संसद्बाट अनुमोदन गर्न नहुने आवाज उठ्न थालेपछि अमेरिकी दूतावासले विज्ञप्तिमार्फत प्रस्टीकरण सार्वजनिक गरेको हो । एमसीसी सम्झौता अनुमोदनका लागि संघीय संसद्मा पेस गरिएको छ, जसलाई यही हिउँदे अधिवेशनमा पारित गराउने सरकारको तयारी छ ।