४ माघ, सल्यान । सल्यानका छापाखानाले २० वर्ष उमेर नपुगेकाका विवाहका निमन्त्रणा कार्ड नछाप्ने प्रतिबद्धता जनाएका छन्। जिल्लामा बालविवाह न्यूनीकरणको अभियान चलाएको प्रहरीसँग छापाखाना संचालकले २० वर्ष उमेर नपुगेकाहरूकाको विवाह कार्ड नछाप्ने प्रतिबद्धता जनाएका हुन्।
जिल्लामा संचालन भएका सातवटा छापाखानाले जिल्ला प्रहरी कार्यालय सल्यानमा पत्रकार सम्मेलन गरी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्। छापाखाना संचालकले बालविवाह न्यूनीकरणमा सहयोग गर्न जन्मदर्ता हेरेर मात्रै विवाहको निमन्त्रणा कार्ड छाप्ने बताएका छन्।
प्रहरीले जिल्लामा बालविवाह न्यूनीकरणमा छापाखानाको पनि साथ र सहयोग आवश्यक रहेको भनेपछि यस अभियानमा सहयोग गर्ने मनसायले अघि बढेको खलंगा रहेको गीटा अफसेट प्रेसका संचालन प्रकाश थापाले बताए। जिल्लाभित्र बालविवाह न्यून गर्न सक्रियरूपमा अभियान चालेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए।