२०७७ कार्तिक ८ गते शनिवार
२०७७ कार्तिक ८ गते शनिवार

सत्य निरुपण आयोग र बेपत्ता आयोगका पदाधिकारीको नाम सिफारिस

४ माघ, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम सिफारिस गरिएको छ। पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले शनिबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई पदाधिकारीको नाम सिफारिस गरेको मन्त्रालयका सहायक प्रवक्ता कमलराज गौतमले जानकारी दिए।

सिफारिस गरिएकामा सत्य निरुपणको अध्यक्षमा डा. गणेशदत्त भट्ट र बेपत्ता आयोगको अध्यक्षमा युवराज सुवेदी रहेका छन्। पदाधिकारीविहीन भएको नौ महिनापछि समितिले नाम सिफारिस गरेको हो। सरकारले गत चैत्र ११ गते ती दुवै आयोगका पदाधिकारीको नाम सिफारिस गर्नका लागि मिश्रको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो। गत चैत मसान्तदेखि आयोग पदाधिकारीविहीन हुँदा शान्ति प्रक्रियाका बाँकी काम टुंगिन सकेका छैनन्।

शनिबार केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा आयोगका पदाधिकारीको नाम सिफारिस समितिले गरेपछि मन्त्रिपरिषद्बाट नियुक्त गर्ने सहमति भएको थियो।