२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

‘एमसिसी नेपालको विकासको लागि धेरै महत्वपूर्ण छ’ – सभापती देउवा

दाङ, ५ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसी नेपालको हितमा रहेको बताएका छन् । उनले त्यही भएर काँग्रेस पार्टीले एमसिसीको पूर्ण समर्थन गर्ने बताएका छन् । नेपाल प्रेस यूनियन दाङले आइतवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री देउवाले एमसिसी अमेरीकाको हालसम्मकै ठूलो सहयोग भएको हुँदा त्यसलाई नेपाल सरकारले फिर्ता जान दिन नहुने बताएका हुन ।

नेपालमा लगानी वृद्धि एवं आर्थिक विकासमा तिब्रता ल्याउने उद्देश्य सहित नेपाल सरकारले अमेरिकाको संग गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को सम्झौंता विकासको लागि महत्वपूर्ण रहेको देउवाले दाबी गरे । अमेरीकी राजदुतावासले त्यो इन्डोप्यासिफिक जस्तो सैन्य गतिविधी सञ्चालन गर्ने रणनीति नभएको स्पष्ट पारिसकेको हुँदा भ्रममा नपर्न आग्रह गरे । एमसिसी पारित भए भोलि नेपालले भारतलाई विद्युत बेच्न सजिलो हुने देउवाले विश्वास व्यक्त गरे । उनले बुटवलदेखि दिल्लीसम्म इण्डियाले ट्राँस्मिसन लाइन बनाउन सुरु गरिसकेको जानकारी दिए । त्यस्तै उनले त्यो रकमले नेपालको सडक निर्माण तथा विस्तारमा समेत त्यसे सहयोग पुग्ने आशा व्यक्त गरे ।

कालापानी नेपालको भूभाग हो ।
फरक प्रशंगमा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउवाले कालापानी नेपालको हो भनेर आफुले भन्दा इण्डियालाई भन्दा नेपालका साशकलाई बढी दुखेको बताए । आफुले त्यही कुरा बोल्दा कतिपय पार्टीका मानिसहरु समेत बैठकमा आउन छोडेको समेत उनले आरोप लगाए । उनले अहिलेको सरकारले कुनैपनि त्यस्तो उल्लेखनिय काम गर्न नसकेको दाबी गरे । अहिलेको सरकारले दुइ वर्षमा उल्लेख गर्न लायकका दुईवटा कामपनि गर्न नसकेको देउवाले दाबी गरे । सरकारले भ्रष्टचार बढाएको, उपभोक्ता समितिको नाममा लुट भइरहेको, कुनै काम नभएको तथा पैंशा बाँड्ने मात्रै काम भइरहेको आरोप लगाए । उनले काँग्रेस चुप लागेर नबसेको तथा सरकारको गतल कामको जिम्मेवार प्रतिपक्षी भएर सदनवाट विरोध गर्दै आएको बताए । उनले काँग्रेसले सदनको कुर्सी र राजधानीका रेलिङ तोडफोड नगर्ने स्पष्ट पारे ।

त्यस्तै फरक प्रशंगमा देउवाले आफुले काम चलाउनका लागि प्रदेश नं. ५ को अस्थायी राजधानी त्यतिबेला बुटवल तोकेको भएपनि त्यो स्थायी नभएको हुँदा अहिलेको सरकारले आवश्यक ठाउँमा सार्न सक्ने बताए ।

नेपाल प्रेस यूनियन दाङका उपाध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, प्रदेश सांसद डिल्लीबहादुर चौधरी, जिल्ला सभापति कीर्तिबहादुर खड्का, पूर्व सांसद गेहेन्द्र गिरी लगाएतको उपस्थिति थियो । प्रेस यूनियनका कोषाध्यक्ष प्रकाश डाँगीको स्वागत मनतव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गरेका हुन ।