५ माघ, बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नाम छिटो टुंगो लगाउन सांसदहरूले माग गरेका छन् । आइतबार बसेको प्रदेश नम्बर ५ को हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्ने प्रदेश सांसदहरुले नाम र राजधानीबारे चासो बढाएका हुन् । यो अधिवेशनले प्रदेशको स्थायी राजधानी र नामकरण टुंगो लगाउने अपेक्षा गरिएको छ ।
बैठकमा बोल्दै नेपाली कांग्रेस सचेतक निर्मला क्षेत्रीले हिउँदे अधिवेशनबाटै प्रदेशको स्थायी राजधानी र नामको टुंगो लगाउन आग्रह गरिन् ।
उनले भनिन्— ‘सबै कुरामा अब्बल प्रदेशले अब नामकारण र राजधानीको टुंगो लगाउने विषयमा ढिलाइ गर्न हुँदैन, यही अधिवेशनले टुंगो लगाएर अगाडि बढनुपर्छ ।’
नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले राजधानी र नामकरण टुंगो लगाउन प्रदेश सभामा गठन भएको विषेश समितिले पेश गरेको प्रतिवेदनलाई व्यापक छलफल गरी सोही प्रतिवेदनका आधारमा राजधानी र नामकरणको विषय टुंग्याइनुपर्ने बताए ।
समाजवादी पार्टीका सांसद सन्तोषकुमार पाण्डेयले आमाको नामबाट नागरिकता पाउने व्यवस्था भएपनि कार्यान्वनमा समस्या भएको भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए । प्रदेश सभाको अर्को बैठक यही माघ १२ गते बस्नेछ ।