माघ ६, काठमाडौं । प्रतिनिधिसभामा रिक्त सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुने भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार सभामुख चयनको निर्वाचन माघ १२ गते गर्नेबारे दलहरुबीच सहमति भएको हो।
सचिवालयकी कर्मचारीमाथि यौन दुव्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा दिएका थिए। त्यसयता सभामुख पद रिक्त छ। रिक्त सभामुख पदपूर्तिको लागि सत्तारुढ दल नेकपाले नेता अग्निप्रसाद सापकोटालाई अघि सारेको छ। त्यस्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय दलकी सचेतक पुष्पा भुसाललाई सभामुखको उम्मेद्वार बनाउने लगभग पक्कापक्की रहेको स्रोतले जनाएको छ।
संविधानमा सभामुख र उपसभामुख एकै दलबाट हुन नपाउने प्रावधान रहे अनुसार नै नेकपाबाटै उपसभामुख बनेकी शिवमाया तुम्बाहाङफेले सोमबार १ बजे आफैंले अध्यक्षता गरेको बैठकमा राजीनामा पत्र पढेर पदबाट राजीनामा दिइसकेकी छन्।