२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

धरौटीमा छुटेका पाँच जना ‘विप्लव’ नेता पुनः पक्राउ

दाङ, माघ ६ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पाँच जना नेतालाई प्रहरीले सोमबार जिल्ला अदालतबाट रिहा भएलगत्तै पुनः पक्राउ गरेको छ। देउखुरीस्थित दाङ जिल्ला अदालतबाट धरौटीमा छुटेका उनीहरू गेटबाटै पक्राउ परेका हुन्।

गत असोज ३० गते राजपुर गाउँपालिका-४ मुङ्‌ग्रेठाबाट पक्राउ परेका उनीहरूलाई पुसको ७ गते जिल्ला अदालतले १५/१५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। सोही अनुसार धरौटी बुझाएर छुटेका उनीहरूलाई प्रहरीले पुनः पक्राउ गरेको हो। पुनः पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपाका राप्ती ब्युरो सदस्य एवं न्याय विभाग समिति दाङका संयोजक रामबहादुर थापा ‘सुन्दर’, दाङ जिल्ला इन्चार्ज यामलाल कटुवाल ‘विक्रम’, थवाङ स्वायत्त क्षेत्र इन्चार्ज हितप्रसाद रोका, थवाङ स्वायत्त क्षेत्र सेक्रेटरी अमृत घर्ती मगर र पाटी सदस्य इन्द्रबहादुर वली रहेका छन्।

असोज ३० गते पक्राउ परेका २१ नेता तथा कार्यकर्तामध्ये धरौटी बुझाएर छुट्न खोज्दा हालसम्म ११ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा विप्लव समूहको नेकपाका भ्रातृ सङ्‌गठन दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सुरज परियार, पार्टी सदस्य विष्णुबहादुर रावत, विप्लवका राजपुर गाउँपालिका इन्चार्ज एवं एरिया नं. १ का इन्चार्ज धनबहादुर बोहरा ‘महान’, जिल्ला जनपरिषद् सदस्य एवं एरिया नं ४ का इन्चार्ज एकराज चौधरी, पूर्वजनमुक्ति सेना तिलक पुन र सदस्य कुलबहादुर वली रहेका छन्।

विप्लव नेकपाका मध्य कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्‌ग’लगायतका २१ जना नेता तथा कार्यकर्ता राप्ती ब्युरोको बैठकबाट पक्राउ परेका थिए।