बुटवल, १२ माघ । प्रेस सङगठन नेपाल, प्रदेश ५ को प्रथम भेलाले बुटवल घोषणापत्र जारी गर्दै पत्रकारकारको क्षमता अभिवृद्धि र यसको अध्ययन अनुसन्धानका लागि प्रादेशिक आमसञ्चार प्रतिष्ठान गठनको माग गरेको छ। संगठनले न्यूनतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेबमोजिम तोकिएको पारिश्रमिक पत्रकारले नपाएको गुनासो भएकाले कार्यान्वयन गर्न समेत माग गरेको छ।
प्रदेशस्तरीय मिडिया विकास कोष स्थापनाका लागि माग गर्दै घोषणापत्रमा समाचार लेखेकै विषयलाई लिएर रुपन्देहीका प्रहरी उपरीक्षक हेम थापाले भैरहवामा कार्यरत पत्रकार माधव न्यौपानेलाई मानसिक यातना दिने काम गरेको प्रति खेद व्यक्त गर्नुका साथै पेशागत सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको समेत उल्लेख छ। भेलाले प्रदेशभरका १२ जिल्लाका प्रेस संगठनको जिल्ला नेतृत्वलाई अनुमोदन समेत गरेको छ।