२०८१ कार्तिक २५ गते आइतवार
२०८१ कार्तिक २५ गते आइतवार

बाख्रापालनमा रमाउँदै पुर्व शिक्षक वली (फोटो फिचर)

प्रेम पुन । २२ वर्ष ससाना नानीबाबुलाई सिकाउँदै रमाउँदै गरेका शान्तिनगर गाउँपालिका वडा नं. १ गुण्डलेका पुर्व शिक्षक गोपिलाल वली हिंजोआज बाख्रा चराउनमा व्यस्त छन् । बाख्रालाई स्याहार सुसार गर्दैमा उनलाई फुर्सद छैन । बाख्रा चराउन, बाख्रालाई दानापानी गर्दैमा वलीको दिनचर्या वित्छ । २०४९ साल देखि २०७५ असोज सम्म विद्यालयमा बालबालिकालाई शिक्षा दिक्षा दिने वली हिजो आज शिक्षण पेशा छोडेर व्यावसायीक बाख्रामा पालनमा तल्लिन देखिन्छन् ।

उमेरले ५६ बर्ष पुगेका वली व्यावसायीक बाख्रापालन गर्ने सोचका साथ शान्तिनगर गाउँपालिकाकै वडा नं. १ मा पर्ने कनौडाँडामा जग्गा खरिद गरेर बाख्रापालन सुरू गरेका हुन । गुण्डले कै स्थानीय जयबहादुर वलीसँगको साझेदारीमा बाख्रा पालन गर्न उपयुक्त स्थान कनौडाँडामा डेढ विगा जग्गा खरिद गरेर त्यसैमा ८ लाख लगानी गरेर ‘जय गोपिकृष्ण बाख्रा कृषि फर्म’ सञ्चालान गरेका छन् । अहिले वलीको सो फर्ममा ३८ वटा बोका तथा बाख्रा रहेका छन् । अहिले लोकल बाख्राबाट सुरू गरेका वलीले उन्नत जात बाख्रा पनि किनेर पाल्ने सोच गरेका छन् । नजिकै जङ्गल भएकाले पनि बाख्रालाई आवश्यक घाँसपातको राम्रो सुविधा रहेको छ । बाख्रापालनमा राम्रै आम्दानि गर्ने सोचका साथ अगाडि बढेका छन् उनी। पढे लेखेका शिक्षित बर्गले बाख्रापालन गर्नुहुन्न भन्ने गलत धारणालाई हटाउँदै आफु व्यावसायीक बाख्रामा लागेको उनले बताए ।

व्यावसायीक नमुना बाख्रापालन गर्ने सोच रहेको उनको भनाई छ । लक्ष्मी आधाभूत विद्यालय हारीचार र विरेन्द्र मा.वि खिलतपुरमा लामो समय सम्म शिक्षण पेशामा संलग्न वलीले धेरै बालवालिकालाई उज्यालो ज्योति छरेका छन् । विरेन्द्र मा.वि खिलतपुरलाई २०५२ सालमा प्रा.वि हुँदै नि.मा.वि र २०६१ सालमा नि.मा.वि हुँदै मा.वि सम्म सञ्चालन गर्न ठुलो योगदान रहेको छ । निजि, राहत तथा अस्थाई दरवन्दीमा शिक्षक पेशाबाट शिक्षाको उज्यालो ज्योती छरेका वली व्यवसायीक बाख्रापालनमा सुरू गरेको ५ महिना भयो ।

वडा कार्यालय, गाउँपालिका र घरेलुमा फर्म दर्ता गराई सकेका उनले व्यावसायीक बाख्रापालन गर्ने किसानलाई स्थानिय सरकार र सम्वन्धीत निकायले सहयोग गरे हुन्थ्यो भन्ने आशा रहेको उनी बताउँछन्। अनुदान र बाख्रापालन सम्वन्धी तालिम तथा परामर्श लिने अवसर पाए बाख्रापालनमा टेवा पुग्ने आशा लिएका छन् गोपीलाल वलीले।