२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

प्रहरीबाट अधिकारको दुरुपयोग भएको छ : सासंद वली

१४ माघ, काठमाडौं । गायिका आस्था राउतलाई म्याद थपेर चार दिनसम्म थुनामा राख्‍ने प्रशासनको निर्णयप्रति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै सांसदहरुले चर्को आलोचना गरेका छन्।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै नेकपाकी सांसद कोमल वलीले गायिका आस्थालाई गम्भीर अपराधीझैँ थुनामा राखिएकोमा आपत्ति जनाइन्। गायिका आस्था राउतलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले दिएको अनुमति गलत हो, उनले भनिन्, अनुसन्धानका आधारमा थुन्‍ने अधिकार भए पनि भागेर जाने अवस्था, बाहिर राख्दा प्रमाण नष्ट हुने अवस्था, गम्भीर खालको अपराध नगरेको अवस्थामा यो ठीक भएन। तीन वर्षभन्दा बढी कैद हुने अवस्थामा मात्रै थुनामा राख्‍न सकिन्छ। राउतलाई थुनामा राख्नु गलत हो। उनले प्रहरी प्रशासनबाट कानुनको दुरुपयोग भएको आरोप लगाइन्।

प्रमुख जिल्ला अधिकारीले एक वर्षभन्दा बढी कैद गर्ने अधिकार नभएको बताउँदै वलीले राउतलाई तारेखमा राखेर अनुसन्धान गर्ने बाटो हुँदा हुँदै थुनिएको बताइन्। सिडियोले यस्तो सामान्य घटनामा कसरी थुन्‍ने आदेश दिन सक्छ। उजुरी गर्नासाथ यसरी थुन्‍ने आदेश दिने हो भने फैजदारी न्यायको मूलमर्म नै नष्ट हुन्छ, उनले भनिन्, पहिले सुन्‍ने अनि थुन्‍ने हो। प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ।