२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

टिपरको ठक्करबाट युवकको मृत्यु भएपछि युवतीले आत्महत्या गरिन्

१५ माघ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । घटनाबाट विक्षिप्त बनेकी एक युवतीले घटनालगत्तै आत्महत्या गरेकी छन् ।

मंगलबार बिहान वीरेन्द्रनगर–४ मसुरीखेल चोकमा भे १ ख २२४२ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कालिकोटको महावै गाउँपालिका सिमखेतका २० वर्षीय केशरबहादुर सिंहको घटनास्थलमा नै मृत्यु भयो । घटनाको विरोधमा स्थानीयबासीले आन्दोलन गर्दा वीरेन्द्रनगर दिनभर तनावग्रस्त भयो ।

केशरको दुर्घटनामा मृत्यु भएपछि विक्षिप्त भनेकी कालिकोटकी अरुणा शाहीले आत्महत्या गरेकी छन् । उनी सुर्खेतस्थित मामाघरमा झुण्डिएको भेटिएकी हुन् । सिंहको शव देखेलगत्तै फर्किएकी शाहीले विक्षिप्त अवस्थामा आत्महत्या गरेको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख दिल्लीराज पन्तले शाही मृत भेटिएको पुष्टि गरे पनि युवकसँगको सम्बन्धबारे केही बताउन नसक्ने जनाए ।