शान्तिनगर, १५ माघ । दाङको शान्तिनगर गाउँपालिकाको सातौं गाउँसभा सकिएको छ । मंगलबारदेखि शुरु भएको गाउँसभा बिभिन्न नीति पारीत गर्दै आज बुधबार सकिएको हो । गाउँपालिकाले स्वास्थ्य ऐन र स्वास्थ्य नीति २०७६ पारीत गरेको छ ।
अब गाउँपालिकामा सञ्चालित सबै निजि स्वास्थ्य संस्थाहरु अनिवार्य दर्ता र सुचिकृत हुनुपर्ने छ । साथै गाउँपालिकाले कर्मचारी ब्यबस्थापन र स्वास्थ्य संस्थाहरुको अनुगमन समेत गर्ने भएको छ ।
त्यस्तै गाउँसभाले स्थानीय बन ऐन २०७६, संस्था दर्ता बिधेयक २०७६, गाउँपालिकाको पूर्बाधार बिकास ब्यबस्थापन बिधेयक २०७६, त्यस्तै तथ्यांक तथा अभिलेख ब्यबस्थापन बिधेयक २०७६ र कृषिबिकास बिधेयक २०७६ समेत पारित गरेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए ।
साथै सभाले न्यायिक समितिका सदस्य पुनिराम कामीको निधनप्रति दुःख ब्यक्त गर्दै शोक प्रस्ताब पारित गरेको छ । न्यायिक समितिका सदस्य कामीको निधन पछि रिक्त रहेको पदमा भने कसलाई राख्ने भन्ने बिषयमा सहमति हुन सकेन् । नेकपाबाट मिना गिरी र शालीक राम बिक र नेपाली काँग्रेसबाट नन्दकली बिकले उक्त पदमा दाबी नछाडे पछि सहमति हुन सकेन् ।