२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७० पुग्यो

बेइजिङ । चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करीब १७० पुगेको छ । अत्यधिक रुपमा फैलिरहेको कोरोना भाइरसबाट एक हजार सात सय नयाँ व्यक्ति सङ्क्रमित भएको पुष्टि गरिएको छ । विश्वभरि कोरोना भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या सात हजार सात सय नाघिसकेको छ ।

त्यस्तै १२ हजारभन्दा बढीमा सङ्क्रमण देखिएको आशङ्का गरिएको छ । चिकित्सकका अनुसार सङ्क्रमित व्यक्तिमध्ये पाँच जनामध्ये एक जना व्यक्तिमा गम्भीर निमोनियाको लक्षण देखिएको छ ।

चिनियाँ सरकारले कोरोना भाइरस नियन्त्रण गर्न चिनियाँ नँयावर्षको बिदा अझै थप गर्ने घोषणा गरेको छ। जनवरी ३० सम्म हुने नँया वर्षको बिदा थप गरेर फेब्रुअरीको दोस्रो सातासम्म पुर्याइएको छ । चीनका राष्ट्रपति सि जिन्पिङले कोरोना भाइरस तीव्र गतिमा फैलिएको कारण सावधानी अपानाउन चेतावनी दिएका छन् । चिनियाँ अधिकारीका अनुसार कोरोना भाइरस पहिलेको तुलनामा अझै छिटो फैलिरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले कोरोना भाइरसलाई लिएर उच्च सतर्कता अपनाउन विश्वलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको आपतकालीन स्वास्थ्य कार्यक्रमले कोरोना भाइरसबारे सचेत रहन र यसविरुद्ध लड्न विश्वलाई आव्हान गरेको हो ।

–एजेन्सी