२०७७ माघ ४ गते आइतवार
२०७७ माघ ४ गते आइतवार

शहीदको सम्झना गरी आज शहीद दिवस मनाइँदै

दाङ, १६ माघ । प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज शहीद दिवस मनाइँदै छ ।

शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।

हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने काम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचली र माघ १३ गते धर्मभक्त माथेमालाई सिफल तथा गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।