२०७७ माघ ६ गते मङ्गलवार
२०७७ माघ ६ गते मङ्गलवार

नेविसंघको अध्यक्षमा राजीव ढुंगाना चयन

काठमाडौं, १६ माघ । नेपाली कांग्रेसले आफ्नो भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को नेतृत्व मनोनयन गरेको छ। विधान अनुसार ३२ वर्षे उमेर हद लागू गर्न मागसहित सानेपामा आमरण चलिरहेका बेला कांग्रेसका सभापति शेरबहादुर देउवाले ४८ वर्षीय राजीव ढुंगानालाई नेविसंघको अध्यक्षमा मनोनित गरेका हुन्।

गत शुक्रबार भएको सहमति अनुसार ढुंगानालाई सभापति देउवाले नेविसंघको अध्यक्षमा मनोनित गरेका हुन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फागुन १ गते बसेको बैठकको निर्णय अनुसार पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त भएको नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा सुनसरीका राजीव ढुंगानालाई नियुक्त गर्नु भएको छ, कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने ।

सभापति देउवाले ढुंगानालाई अध्यक्षमा मनोनित गरेसँगै महासचिवमा काठमाडौंका मनोज वैद्य र महामन्त्रीमा पाल्पाकी महेश्‍वरी कुवँरलाई चयन गरेका छन्। मुख्य सचिव पौडेलका अनुसार यो तदर्थ समितिले आगामी ६ महिनाभित्र नेपाल विद्यार्थी संघको १२औं केन्द्रीय अधिवेशन सम्पन्‍न गर्नेछ।

नेपाल विद्यार्थी संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र गरिने पनि पौडेलले जानकारी दिए।