२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

फिल्म मसालेदार नै हुनुपर्छ : नायक रायमाझी

तुलसीपुर, १८ माघ । कुशल नृत्य र जीवन्त अभिनयका कारण एक समय नेपाली सिनेमा क्षेत्रमा एकछत्र राज गरेका लोकप्रिय नायक दिलिप रायमाझीले फिल्म सफल र राम्रो हुनका लागि फिल्म मसालेदार नै हुनुपर्ने बताएका छन् । बीचमा केही समय विभिन्न जनराका फिल्म बजारमा आएपनी अहिले फेरि एक्सन, रोमान्स, कमेडी र फेमेली ड्रामा अर्थात सबै कुराको मिश्रण भएको उहीँ पुरानै शैलीका फिल्मको माग नेपाली दर्शकले गरिरहेको बताए ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आयोजना गरेको विषेश साक्षात्कार कार्यक्रममा नायक रायमाझीले त्यही दर्शकले खोजे अनुसारको मसालेदार फिल्म लक्का जवान भएको र एकपटक हेरेर प्रतिक्रिया दिनसमेत आग्रह गरे। स्मरण रहोस् नायक रायमाझीले निर्माण गरेको लक्का जवान आगामी चैत २१ गतेबाट अल नेपाल रिलिज हुदैछ। साथै पत्रकारले किन अहिले पुराना कलाकारले अभिनय गरेका वा बनाएका फिल्म चलेका छैनन् , के पुराना कलाकारको दिन सकिएकै हुन त ? भन्ने जिज्ञासामा रायमाझीले भने- ‘हेर्नुस् सुर्य उदाएपछी एकपटक अवश्य अस्ताउछ, फरक ढिलो र छिटोको मात्र हो।’

चलचित्र पत्रकार संघ नेपाल दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा दिलिपले चलचित्र पत्रकार संघ नेपाल, दाङले चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा मोफसल रहेर पत्रकारिताको माध्यमबाट खेलेको भुमिकाको प्रसंशा गरे। चलचित्र पत्रकार संघ दाङका उपाध्यक्ष सन्तोष के.सी.को स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका सचिव पुर्ण के.सी.ले गरेका थिए ।