काठमाडौं, २० माघ । ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको हो ।
खरिद मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि चार सय प्रतिकिलो पुगेको छ । यसअघि २०७४ वैशाखमा करिब एक महिना दुई सय ६० रुपैयाँ मूल्य कायम थियो । असोजदेखि मंसिरसम्म ब्रोइलरको मूल्य प्रतिकिलो दुई सय रुपैयाँसमेत नआउँदा किसानले खोरमा चल्ला हुलेका थिएनन् । त्यतिखेर लागत मूल्य नै दुई सय २० को हाराहारीमा थियो ।
यस्तै, पछिल्लो समय ब्रोइलर कुखुरालाई ३० दिन पालिसके लगत्तै रोगव्याधिबाट मर्ने दर अत्यधिक हुँदा किसान निरन्तर घाटामा गइरहेका थिए ।