२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

देशभर दादुरा–रुबेला खोप अभियान सञ्‍चालन हुँदै

काठमाण्डौं, २१ माघ । देशभर दादुरा–रुबेला खोप अभियान दुई चरणमा सञ्‍चालन गरिने भएको छ। पहिलो चरणमा प्रदेश १, २ र ५ का ३ सय ३४ स्थानीयतहमा खोप अभियान सञ्‍चालन गर्न लागिएको हो।

एउटा स्थानीय तहमा ९ दिन र तोकिएका हरेक जिल्लामा एक महिनासम्म अभियान चलाइनेछ। पहिलो चरणमा ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ बालबालिकालाई खोप खुवाइने लक्ष्य छ। यस्तै दोस्रो चरण अन्तर्गत चैत महिनामा प्रदेश ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ बालबालिकालाई खोप लगाउने तयारी पुरा भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित कार्यक्रम सञ्‍चालन पुस्तिकामा उल्लेख भएअनुसार पहिलो र दोस्रो चरण गरी विभिन्‍न १९ जिल्लामा पोलियो थोपासमेत खुवाइनेछ। तत्कालिन गा.वि.सको हकमा प्रत्येक वडामा एक र नगरपालिकामा २ वटा खोप केन्द्र निर्धारण गरिएको छ। आवश्यकता अनुसार खोप केन्द्रको संख्या बढ्न पनि सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पहुँचबाट टाढा रहेको बस्ती, शहरका घनाबस्ती, सुकुम्बासी बस्ती, कारखाना, बालमन्दिर, अनाथ आश्रम, इट्टा उद्योग, सिमा क्षेत्र र बस स्टेशनहरुमा समेत खोप र पोलियो थोपाका लागि परिचान गरिँदैछ। देशभरका ९ महिनादेखि पाँच वर्षभित्रका करिब ३० लाख बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने सरकारको लक्ष्य छ। अभियानमा देशभरका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय निकायका जनप्रतिनिधि लगायतलाई सहभागी गराइनेछ।