२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

भब्य सफलताका बिच सकियो तुलसीपुर महोत्सव

शरद रेग्मी, तुलसीपुर २१ माघ । एकदिन समय थपिएर तुलसीपुर महोत्सव सम्पन्न भएको छ । महोत्सव तुलसीपुरको समृद्धिको लागी विमानस्थल स्तरोन्नतीमै केन्द्रित थियो । पर्यटन मन्त्री योगेशकुमार भट्टराइले सुभारम्भ गरेको महोत्सवको सभापन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गरेका छन् ।

“घुम्न जाऔं तु्लसीपुरसँग जोडिएको यो महोत्सवले तुलसीपुर उमहानगरपालिकाको आन्तरीक पर्यटनलाइ सहयोग गर्ने हामीले अपेक्षा गरेका छौं” प्रमुख अतिथि पाण्डेले भने । महोत्सव पर्यटन भ्रमण बर्ष २०२० संग पनि जोडिएको र तुलसीपुर उमहानगरपालिकाले नेपाल भ्रमण बर्षका अवसरमा अघि सारेका ८४ वटा कार्यक्रम अन्तर्गत नै यो कार्यक्रम भएको पनि समापनका प्रमुख अतिथि पाण्डेले बताए । तुलसीपुर उद्योग वाणिज्य संघले अघिल्लो पटक लगाएको महोत्सवले अन्चल अस्पतालको स्तरबृद्धि भएको थियो । दोस्रो महोत्सवले हवाइ सेवालाइ निरन्तरता दिन अभ्यस्त थियो, भने यस पटकको महोत्सव पनि तुलसीपुरको विमानस्थलको स्थरबृद्धिकै लागी केन्द्रित थियो । त्यसैगरी तुलसीपुर उद्योग वाणिज्यसंघले निर्माण गर्न थालेको वहुआयामिक सभाहल निर्माण पुरा गर्न पनि लक्षित थियो महोत्सव ।

 

जग्गादाता यज्ञ के.सी.ले दिएको जग्गामा तुलसीपुर उद्योग बाणिज्य संघले वहुआयामिक स्तरीय सभाहल निर्माण गर्दैछ । यो महोत्सवबाट बचेको पैसा सोहि सभाहल निर्माणमा खर्च गरीने आयोजकले जनाएको छ । महोत्सवको आय–व्यय केहि दिनमै सार्वजनिक गरीने आयोजक तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले बताएका छन् । महोत्सवमा व्यवसायीक एकताका भएकोमा उनले उच्च प्रशंसा पनि गरे । मेला महोत्सव सफल पार्न विभिन्न ३६ उपसमितिहरु गठन गरीएका थिए । सवैको सहकार्यले महोत्सव पुर्ण सफल भएको आयोजकले जनाएको छ ।

यसैबीच तुलसीपुरको टरीगाउंस्थीत विमानस्थलको स्तरोन्नतीका लागी आज सम्म पनि हस्ताक्षर अभियान जारी रहेको छ । हस्ताक्षर अभियानमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले पनि हस्ताक्षर गरेका छन् ।

महोत्सवको समापनका दिन लोकप्रिय कलाकार आस्था राउतले दर्शकहरुको ध्यान खिचेकी थिइन्, भने अन्य केन्द्रिय कलाकारहरुको प्रस्तुतीले पनि दिनभरी दर्शकहरु मनोरन्जनमा झुमेका थिए ।

समापन कार्यक्रम महोत्सव मुल आयोजक समितिका अध्यक्ष विर वहादुर रावतको अध्यक्षतामा भएको थियो । सो अवसरमा नेकपाका अध्यक्ष टिकाराम खड्का, नेपाली कांग्रेसका क्षेत्रीय सभापति जगत वहादुर खड्का लगायत अन्य राजनितिक दलका जनप्रतिनिधिहरु र संघसंस्थाहरुको पनि बाक्लो उपस्थीति रहेको थियो ।