२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

सोमराजको परिवारलाई सहयोग गर्दै सहयोगी मनहरू

बबई, २२ माघ । धन कमाउने ठुलो सपना देख्दै २ बर्ष पहिले पश्चिम दाङको बबई गाउँपालिका वडा नं. ५ बबरपुरका ३५ बर्षीय सोमराज वली बैदेशिक रोजगारीको शिलशिलामा दुबई गए । काम विल्डीङ कन्ट्रसनको थियो । कमाईकाज ठिक ठिकै थियो । त्यही कमाईले घर व्यवहार र छोरा छोरीको पढाई खर्च टरेको थियो । विदेश गएको १३ महिना पछि यता घरमा श्रीमती रुखबाट खसेर थला परिन । आधा शरिर मात्रै चल्ने भयो । श्रीमती अवस्थाबाट सोमराज चिन्तित भए । घर आउने हो, उपचारका लागि नेपालमा आर्थिक जोहो गर्ने अवस्था थिएन । जसोतसो श्रीमतीलाई उपचार गराउने पैसा कमाएर मात्रै घर फर्किने सपना देखेका थिए सोमराजले।

पैसा कमाएर उपचार गर्न आउने श्रीमतीलाई वाचा गरेका सोमराज गत माघ १२ गते दुवईमा भबन निर्माणको क्रममा लडेर गम्भीर घाईते पछि उपचारको क्रममा निधन भयो । पराई देशमा आफ्नो सास छोडेर लास बनेर आउने भए सोमराज घर । उनले श्रीमतीसंग पैसा कमाएर उपचार गराउँछु भनेको वाचा पुरा गर्न सकेनन् । सोमराज त संसार छोडेर गए तर उनकी श्रीमती जिउँदो लास बनेकी छिन् ।

उनको यस्तो अवस्था मिडियामा आएपछि दुःख हेर्न नसकेर केहि सहयोगी मन र वैदेशिक रोजगारमा विदेश गएका युवाहरूले दुखेको घाउमा मलम पट्टी लगाउने काममा जुटेका छन् । पुर्व देखि पश्चिम, उत्तर देखि दक्षिण सम्मका नेपाल हरेक जिल्लाका युवाहरूले सक्दो आर्थिक सहयोग गरेका छन् । विभिन्न देशमा बैदेशिक रोजगारमा गएका युवाहरूले आफ्नै घरको समस्या जस्तै ठानेर आर्थिक सहयोगमा जुटेका छन् । विदेशमा गएका युवाहरूको हृदय साच्चै कोमल हुन्छ भन्ने प्रमाण देखाएका छन् । सोमराजलाई नचिनेका युवाहरूले पनि आफ्नो घरमा पठाउने रकम कटाएर आर्थिक सहयोग गरेका छन् । यसको नेतृत्व सामाजिक अभियान्ता पश्चिमदाङका जुझारू युवा झुपु क्षेत्रीले गरेका छन् । सोमराज संगै पढेको र संगै खेलेको जिग्री साथी हो, उनको परिवारको अवस्था देख्न नसकेर आर्थिक संकलमा जुटेको उनले बताए । उनले भने–“हामी नेपाली कसैको दुःख हेर्न सक्दैनौ, एकले अर्कालाई अप्ठेरोमा परेको वेला सहयोग गर्नुपर्छ ।” युवा नेता समेत रहेका क्षेत्रीले सक्दो आर्थिक सहयोग गरिदिन सवैलाई आग्रह गरेका छन् ।

सहयोग गर्न चाहने सहयोगी मनले नेपाल बंगलादेश बैंक, हापुरे दाङको शाखा मृतक वलीको श्रीमती खिमा र बहिनी गोमाको नाममा रहेको संयुक्त खाता नं 064003711S मा जम्मा गर्न सक्नेछन् । अहिले सम्म खातामा १ लाख २७ हजार जम्मा भएको छ । सोहि ठाउँका स्थानियले घरमै गएर पनि सहयोग गरेका छन् । यस्तै विभिन्न ठाउँ सहयोगी मनले आर्थिक सहयोग गर्ने क्रम जारी रहेको क्षेत्रीले बताए । उनका अनुसार घरमा १ लाख जति रकम जम्मा भएको छ । यस्तै सहयोग गर्ने क्रम जारि रहेको छ ।