दाङ, २२ माघ । थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले माघ महिना भित्रै सांसद रेशम चौधरीलाई जेल मुक्त नगरिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
मंगलवार दाङको तुलसीपुरमा पत्रकार घेटघाट कार्यक्रममा संयोजक थारुले सांसद चौधरी लगाएत ११ जना बन्दीहरुलाई रिहा नगरे आन्दोलन चर्काउने चेतावनी दिएका हुन ।प्रधानमन्त्रीलाई भेटेर आफुहरुले १५ दिने अल्टिमेटम सहतिको माग पत्र बुझाइ सकेको भन्दै संयोजक थारुले आफ्नो मागको बेवास्ता गरे पहिचान पक्षधरहरुको पहलमा फागुन १ गते धनगडीवाट सामुहिक आमरण अनसन थाल्ने बताए । त्यसमा जेलमा बस्दै आएका परिवारका सदस्यपनि सामेल हुने उनले बताए ।
थारुहरुमाथि कम्युनिष्ट सरकारले अन्याय गरेको, न्याय दिन नचाहेको उनले आरोप लगाए । प्रधानमन्त्री केपी ओलीको निरुङ्कुशता र ज्याजती सहन सक्ने अवस्था अब नभएको हुँदा आन्दोलनमा जानुपर्ने स्थिति आएको उनले जिकिर गरे ।
थारु समुदायले न्याय नपाएको हुँदा त्यसैको लागि फेरि आन्दोलन गर्नु बाध्यता भएको तर्क गरेपनि उनले आफुहरु शान्ति र सद्भाव खलबल्याउने पक्षमा भने नरहेको स्पष्ट पारे । संविधान अपुरो र अधुरो रहेको दाबी गर्दै संयोजक थारुले संशोधन नभए कुनैपनि हालतमा स्वीकार्य नहुने बताए । अहिलेको संविधानले लोकतन्त्र र गणतन्त्र संस्थागत नहुने उनले जिकिर गरे ।