२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

प्रदेश सभा स्थापना दिवस कार्यक्रममा सांसदको न्यून उपस्थिति

बुटवल, २२ माघ । प्रदेश ५ को प्रदेशसभा स्थापना दिवस मूल समारोहमा आधा बढी सांसद अनुपस्थित भएका छन् । ८७ जना सदस्य रहेको प्रदेशसभाको दोस्रो स्थापना दिवसा ३४ जना सांसद मात्र उपस्थित भए ।

प्रदेशसभा सचिवालयले आयोजना गरेको समारोहमा आधा भन्दा धेरै सांसद अनुपस्थित हुँदा मूल समारोह नै खल्लो बन्यो । ६ जना मन्त्रीमध्ये मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल मात्र उपस्थित भए । भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र सामाजिक विकास मन्त्री सुदर्शन बराल भने अनुपस्थित रहे । सात वटा संसदीय समितिमध्ये दुईवटा समितिका सभापति मात्र प्रदेश स्थापना दिवसमा उपस्थित भए ।

अर्थ, उद्योग तथा पर्यटन समिति सभापति दधिराम न्यौपाने र विशेषधिकार समिति संयोजक कमलराज श्रेष्ठ मात्र उपस्थित भए । बांकी ५ जना आएनन् । समारोहमा प्रदेशसभाको प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको उपस्थिति पनि नगण्य मात्र थियो । विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन पछि हाल प्रदेशसभामा ८६ जना सांसद छन् ।

शुरुमा १२ बजे शुरु गर्ने भनिएको कार्यक्रम १ घण्टा ढिलो हुन पुग्यो र १ बजे मात्र शुरु भयो । प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई नेपाल प्रहरीले सलामी दिएपछि कार्यक्रम शुरु भयो ।

कार्यक्रम सञ्चालन भएको १ घण्टा ३८ मिनेट पछि प्रदेश प्रमुख र सभामुखले प्रदेश सभाले सञ्चालन गरेका विभिन्न विधाका कार्यक्रमका ।सहभागीलाई प्रमाण पत्र वितरण गरिरहेका बेला मुख्यमन्त्री शंकर पोखरेल २ बजेर ३८ मिनेटमा आइपुगे ।

मुख्यमन्त्रीलाई स्वागत गर्न जाने कि प्रमाण पत्र वितरण गर्ने अलमलमा सभामुख पूर्णबहादुर घर्ती देखिन्थे । पछि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले मुख्यमन्त्रीलाई स्वागत गर्दै स्टेजसम्म ल्याए । कार्यक्रममा बोलाइएका उपमहानगरपालिका तथा नगरपालिकाहरुका प्रमुखमध्ये एकजना पनि आएनन् ।