२०८१ असोज २७ गते आइतवार
२०८१ असोज २७ गते आइतवार

ललिता निवास प्रकरणमा मुद्दा दायर भएसँगै गच्छदार सांसदबाट निलम्बित

काठमाडौं, २२ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले विशेष अदालतमा बुधबार अपरान्ह उक्त मुद्दा दर्ता गरेको हो। यो प्रकरणमा गच्छदार, अख्तियारकै पूर्वप्रमुख दीप बस्न्यातविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गराएको हो।

अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बित भएका छन् ।

उनी विरुद्धको मुद्दा अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा संसदमा जान पाउने छैनन् । यदि भ्रष्टाचार मुद्दामा अख्तियारको दाबी अदालतबाट ठहर भएमा गच्छदारको राजनीतिक जीवन समाप्त हुनेछ ।

राजनीतिक दल सम्बन्धी कानुनले भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति कुनै पनि चुनावमा उम्मेदवार हुन पाउँदैन । गच्छदार त्यो अवस्थामा कांग्रेस केन्दीय सदस्य समेत हुन पाउने छैनन् ।

बालुवाटारस्थित ललिता निवासको २१९ रोपनीमध्ये ११४ रोपनी जग्गा कर्मचारी र भूमाफियाले मिलेर विक्री गरेको ठहर सीआईबीले गरेको छ।