२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

कोरोना बारे सबैभन्दा पहिले थाहा दिने डाक्टरको मृत्यु

काठमाडौं, २४ माघ । चीनबाट फैलिएको कोरोना भाइरसको सबैभन्दा पहिले चेतावनी दिने एक डाक्टरको कोरोना भाइरस संक्रमणबाटै मृत्यु भएको छ । वुहान सेन्ट्रल अस्पतालका आँखा विशेषज्ञ डाक्टर ली वेनलियाङ्गको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ ।

उनको स्वास्थ्यबारे विरोधाभासपूर्ण खबरहरु आइरहेका थिए । पछि वुहान सेन्ट्रल हस्पिटलले सामाजिक सन्जालमार्फत् उनको स्थिति गम्भीर रहेको भन्दै उनलाई जोगाउन हरसम्भव कोसिस गरिरहेको जानकारी दिएको थियो । पछि सरकारी आदेशअनुसार उनका स्वास्थ्य रिपोर्टहरु सार्वजनिक गरिएको थियो ।

चीनको सरकारी मिडियाका अनुसार डाक्टर लीले ३० डिसेम्बरकै दिन आफ्ना साथी डाक्टरहरुलाई सार्स जस्तै भाइरसका संक्रमित विरामीहरु आफूले देखेको बताएका थिए । तर, स्थानीय प्रहरीले उनलाई भ्रम नफैलाउन चेतावनी दिएको थियो ।

अन्ततः डाक्टर लीले भनेकै कुरा पुष्टि भयो । निमोनियाको लक्षण जस्तै देखिने र सार्ससँग मिल्दोजुल्दो कोरोना भाइरसको कारण चीनमा ६३६ जनाभन्दा बढीको मृत्यु भइसकेको बताइन्छ । सरकारी तथ्यांकअनुसार ३१ हजारभन्दा बढी मानिस यस भाइरसबाट संक्रमित छन् ।