२०७७ मङ्सिर ९ गते मङ्गलवार
२०७७ मङ्सिर ९ गते मङ्गलवार

आजदेखि दाङसहित १३ जिल्लामा हात्तीपाइलेको औषधि खुवाउन सुरु

दाङ, माघ २५ । आजदेखि दाङसहित १३ जिल्लामा हात्तीपाइले (फाइलेरिया) रोग विरुद्ध औषधि खुवाइदै छ । दाङ, बाँके, बर्दिया, कपिलबस्तु, कैलाली, कञ्चनपुर, झापा, मोरङ, धनकुटा, बारा, लमजुङ, पर्बत र बागलुङमा औषधि खुवाइन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

१३ जिल्लामा कम्तिमा ७४ लाख नागरिकलाई औषधि खुवाउने तयारी नेपाल सरकारकोछ । यता दाङमा भने करिब साढे ६ लाख नागरिकलाई औषधि खुवाउने लक्ष्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालले जनाएको छ ।

यस अघि दाङमा ९औं पटकसम्म औषधि खुवाई सकिएको छ । हात्तीपाइले (फाइलेरिया) रोग विरुद्ध औषधि ६ पटकसम्म खाए पुग्छ । तर दाङमा प्रभावकारी रुपमा औषधि खुवाउने कार्यक्रम सञ्चालन हुन नसक्दा ९औं पटकसम्म खुवाउदा पनि यो रोगका विरामी भेट्टिएका छन् । दाङमा ३ प्रतिशत हात्तीपाइलेका संक्रमित रहेका छन् । यसको निवारण आगामी २ वर्षभित्र गरिसक्ने लक्ष्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. सुनिता पौडेलले बताउनुभयो । उहाँले औषधि सेवन पछि केही असर नगर्ने भन्दै आम नागरिकलाई औषधि सेवन गर्न अनुरोध गर्नुभएको छ ।