प्रेम पुन, पश्चिम दाङको बबई गाउँपालिका वडा नं ७ मलईका रमेश पुनले गत बर्ष +२ अध्ययन सके संगै बैदेशिक राजगारीको तयारीमा लागे । नागरिकता बनाए अनि पासपोर्टको फर्म भरे । पासपोर्ट हातमा परे संगै दलाल संग पछि लागेर बैदेशिक रोजगारीका लागि मलेसियाको एक कम्पनीमा भिजा लगाए । कम्पनिबाट भिजा आएर केहि दिन अघिमात्र रमेश बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका छन् ।
उच्च शिक्षा लिने समयमा हातमा पासपोर्ट बोकेर खाडी जानु उनको बाध्यता हो । +२ अध्ययन पनि काम गर्दै अध्ययन गरेका रमेशले +२ सकेर बैदेशिक रोजगारी बाहेक अरू विकल्प देखेनन् । पढाईमा लगनशिल रमेशको सपना अरू जस्तै उच्च शिक्षा हासिल गरेर आफ्नै देशमा जागीर खानु नभएको होइन । गरिवी र बाध्यताले बिदेसिनुको विकल्प अरू केहि भएन । रमेश जस्तै लाखौं युवाहरूले खाडीमा आफ्ना अमुल्य पसिना बगाउन बाध्य भएका छन् ।
उच्च शिक्षा हाँसिल गर्नुपर्ने समयमा बैदेशिक रोजगारी रोज्नुपर्ने धेरै युवाहरूको बाध्यता रहेको छ । व्यवस्थापन संकायमा +२ अध्ययन गरेर दुवईमा २ बर्ष बसी नेपाल फर्केर पुनः बैदेशिक रोजगारीका लागी रमेशसंगै सालिकराम परियार पनि केहि दिन अघि मलेसिया उडेका छन् । दुबईमा राम्रो कमाई नभएपछि पुनः मलेसियामा भविष्यको सपना वुन्दै सालिकराम मलेसिया गएका हुन ।
गरिवीका कारण अध्ययनको यात्रा विचमै रोकेर बैदेशिक रोजगारीको बाटो अपनाएको सालिकरामले बताए । घरको जेठो छोरा भएकाले घरको सम्पुर्ण जिम्मेवारी आफ्नो काँधमा आएकाले अरू कुनै विकल्प नदेखेर बैदेशिक रोजगारीमा लागेको उनको भनाई छ । प्राय युवाहरू +२ अध्ययन पछि बैदेशिक रोजगारीमा गएको पाइएको छ । +२ अध्ययन सक्दा १८ बर्ष पुग्ने भएकाले पनि यस्तो पाइएको हो । केहि युवाहरू उमेर नपुगेर पनि उमेर बढाएर गएका छन् । क्याम्पस पढ्न शहर जानु पर्ने, गाउँमा भएका केहि क्याम्पस पनि आफ्नो गाउँदेखि दुरी टाढा भएकाले उच्च शिक्षा अध्ययन भन्दा बैदेशिक रोजगारमा जानेको गाउले युवाहरूको सङ्ख्या बढ्दो छ ।
नजिकमा क्याम्पस नभएकाले उच्च शिक्षा अध्ययन गर्ने चाहना पुरा हुन नसकेको ओम प्रकाश डाँगीले बताए । गाउँका सवै युवाहरू वैदेशिक रोजगारमा गएकाले आफू पनि विदेश गएको उनले बताए । गरिवी र क्याम्पस नजिक नहुँदा युवाहरू बैदेशिक रोजगारमा विदेशिनु पर्ने बाध्यता रहेको उनको भनाई छ ।