२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

नेपाल लगातार दोस्रो पटक ओमानसंग पराजित

काठमाडौं, २६ माघ । आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल लगातार दोस्रो पटक घरेलु मैदानमा ओमानसंग पराजित भएको छ । पहिले ब्याटिङ गरेर २४९ रन बनाए पनि राम्रो बलिङ गर्न नसक्दा नेपाल पराजित भयो ।

उपकप्तान अकिब इल्यासको अलराउण्डर प्रदर्शनमा ओमानले नेपाललाई ८ विकेटले पराजित गरेको हो । इल्यासले बलिङमा ४ विकेट लिँदा ब्याटिङमा शतक प्रहार गरे । इल्यास र कप्तान जिसान मक्सुदले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेपछि ओमानको जीत सहज बनेको हो ।

२५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका करण केसीले पहिलो ओभर मेडन गर्दै नेपालको लागि सुखद शुरुवात गरे । तर त्यसपछि ओमानले उत्कृष्ट ब्याटिङ गर्‍यो । १० ओभरको पावरप्लेमा ओमानले कुनै विकेट नगुमाई ४१ रन जोडेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो । कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे ।

पावर प्लेमा २२ रन बनाएको नेपालले कुनै विकेट नगुमाई राम्रो शुरुवात गरेको थियो । कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरे । सुवास व्यक्तिगत २२ रन हुँदा पहिलो विकेटको रुपमा आउट भए । ४२ बल खेल्द १ चौका प्रहार गरेका सुवासलाई मोहम्मद नदिमले एलबीडब्लु आउट गरेका थिए ।

ने‍पालले अन्तिम दुई ओभरमा २३ रन जोडेको थियो । सन्दीपले ७ बल खेल्दै १ छक्काको मद्दतमा अविजत १० रन बनाए । यस्तै कमलले ६ बल खेल्दै १ चौकाको मद्दतमा अविजित ९ रन जोडे ।

ओमानका लागि अलराउण्डर अकिब इल्यासले सर्वाधिक ४ विकेट लिए । यस्तै मोहम्मद नदिमले ३ विकेट लिए ।