२०७९ फाल्गुन २८ गते आइतवार
२०७९ फाल्गुन २८ गते आइतवार

नेपालगन्ज क्यान्सर अस्पतालमा जनशक्ति अभाव

नेपालगन्ज, २८ माघ । ६० शैयाको अत्याधुनिक तीनतले भवन छ। झन्डै चार करोड बजेट छ, खर्च गर्न मिलेको छैन। उपकरण छन् तर विशेषज्ञ छैनन् । कति उपकरणकै अभाव छ। दुई वर्षअघि निर्माण गरिएका दुईवटा मोडुलर अप्रेसन थिएटर (अत्याधुनिक अप्रेसन थियटर) प्रयोग हुन सकेका छैन।

आइसीयु कक्ष बनाइएको छ, प्रयोग हुँदैन। इन्डोर सेवा सन्चालनमै छैन। पश्चिम नेपाल (चितवनभन्दा पश्चिम) को एक मात्र क्यान्सर अस्पताल बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विगत डेढ वर्षदेखि यसरी नै थला परेको छ। एक दशकअघि प्रखर परोपकार मिसनले क्यान्सर अस्पताल सञ्चालन गर्न रकम संकलन गरी पूर्वाधार निर्माणका कामहरू थालिए।

१५ फागुन ०७३ को मन्त्रिपरिषद् बैठकले गठन आदेश जारी गरी संस्थाको सम्पूर्ण सम्पत्ति स्वामित्वमा लिएर सञ्चालन गर्ने निर्णय ग-यो। नेपाल सरकारले अहिले अस्पताललाई वार्षिक तीन करोड ९८ लाख रूपैयाँ बजेट विनियोजन गर्दै आएको छ। यही बजेटबाट पूँजीगत खर्च र कर्मचारीको तलबभत्ता दिने हो।

स्वास्थ्य मन्त्रालयले स्वीकृति दिए पनि सामान्य प्रशासन र अर्थ मन्त्रालयले प्रक्रिया नमिलेको भन्दै लामो समयदेखि दरबन्दी रोकेको छ। ‘जनशक्तिको नभएर हो। अब चाँडै अस्पतालले पूर्ण रूपमा काम गर्छ,’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजय पाठक भन्छन्, ‘दरबन्दी अनुसारको जनशक्ति नहुँदा उपकरण प्रयोग हुन सकेका छैनन्। बजेट छ, प्रयोग गर्न सकिएको छैन। पूर्वाधार छ, प्रयोग हुँदैन।’

अस्पताल कार्यकारी निर्देशकविहीन छ। विशेषज्ञ चिकित्सक, एनेस्थेसिया, प्याथोलोजिस्ट, नर्सिङ स्टाफहरूको अभाव छ। अस्पतालमा ७ विशेषज्ञ चिकित्सकको दरबन्दी हो। अहिले फिजिसियन, सर्जन र रेडियो अंकोलोजिस्ट एक/एक जना मात्र कार्यरत छन्। एक सय शैय्याको प्रस्तावित गरिएको अस्पताल ६० शैय्या तयार नै छ। अप्रेसन नहुँदा अस्पतालको इमरजेन्सीका शैय्या मात्र प्रयोग भएका छन्।

त्यो पनि केवल ‘डे केयर’का रूपमा मात्र। ७५ जना कर्मचारी प्रस्तावित गरिएकोमा अहिले ४३ जना करारका कर्मचारी कार्यरत रहेको अस्पतालका निमित्त प्रमुख विमलकुमार श्रेष्ठले बताए। भर्खरै संघीय राजधानी पुगेर फर्केका श्रेष्ठले भने, ‘केही दरबन्दी स्वीकृत भएका छन्। अब चाँडै हामी पदपूर्ति गर्छौं।’ अस्पतालमा सिटी स्क्यान सेवा छैन।

ब्राराकी थेरापी (पाठेघर क्यान्सरका लागि), मेनोग्राम (स्तन क्यान्सरका लागि), इन्डोस्कोपी र ल्याप्रोस्कोपी सेवा छैन। कति मेसिन जडान भएका छन्, जनशक्तिकै अभावमा सञ्चालन गर्न सकिएको छैन। विशेषज्ञ चिकित्सकलगायत आवश्यक उपकरण नहुँदा क्यान्सर रोग पत्ता लगाउन सकेको छैन। लिन्याक (क्यान्सर सेक्ने मेसिन), एमआरआई र डोजी मेट्री मेसिन पनि छैनन्।

जसका कारण बिरामी काठमाडौं, चितवन र भारतमा उपचार गर्न जान बाध्य छन्। जनशक्ति अभावमा अस्पतालमा हाल साधारण फलोअपमा आउने बिरामीलाई परामर्श, माइनर बायोप्सी, ओपीडी, एक्सरे, सामान्य प्याथोलोजी, फार्मेसी, केमोथेरापीलगायतका सेवा मात्र दिन सकिएको छ। साउन महिनायता अस्पतालबाट तीन सय जनाले किमो सेवा लिएका छन्। साउन महिनायता ओपीडी सेवा लिनेको संख्या साढे ६ हजार पुगेको अस्पतालले जनाएको छ।

अस्पताल पूर्ण रूपमा सञ्चालन हुनका लागि दुई सय सात जनाको दरबन्दी प्रस्ताव गरिएको छ। लक्ष्य अनुसार दरबन्दीको व्यवस्था हुने हो भने यो अस्पतालले भरतपुरमा जस्तै सम्पूर्ण सेवा पश्चिममा उपलब्ध गराउन सक्ने अस्पताल प्रशासनको दाबी छ। खासगरी प्रदेश ५ का बाँके, बर्दिया, दाङलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशबाट बिरामी आउने गरेको अस्पतालका निमित्त प्रमुख श्रेष्ठले बताए। पश्चिम तराईका करिब ५० लाख जनसंख्याले सेवा दिने लक्ष्य छ।

साभार – अन्नपूर्ण पोष्ट