२०८१ कार्तिक २६ गते सोमवार
२०८१ कार्तिक २६ गते सोमवार

पश्चिम नेपालमै पहिलो लोकल कुखुराको ह्याचरी उद्योग दाङमा

तुलसीपुर, २८ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँमा पश्चिम नेपालमै पहिलो पटक लोकल कुखुराको अत्याधुनिक ह्याचरी उद्योग सञ्चालनमा आएको छ । ब्रोइलर कुखुराका चल्ला उत्पादन जिल्लामा भएको भए पनि लोकल कुखुराको चल्ला उत्पादनको लागि भने दाङमा धेरै चल्ला उत्पादन गर्ने यो पहिलो ह्याचरी उद्योग भएको बताइएको छ ।

रुकुम रुमुसीकोटका २६ बर्षिय राजन केसी र काभ्रेका २८ बर्षिय राम कुमार अधिकारी मिलेर २ करोड १५ लाखको लगानीमा लोकल कुखुरा उत्पादन गर्न ह्याचरी उद्योग सञ्चालनमा ल्याएका हुन् । लोकल कुखुराको माग अत्यधिक रहेको र उत्पादन व्यवसायीक रूपमा कम मात्रै हुने भएकाले आफुहरुले एक बर्षको अनुसन्धान पछि दाङमा उद्योग संचालन गरेको सञ्चालकले बताए ।

जिल्लामा पहिलो पटक स्थानीय जातका कुखुरा उत्पादनको लागि २ करोड १५ लाखको लगानीमा ह्याचरी र लोकल कुखुरापालन फर्म खोलीएको हो । करिब एक वर्ष अघिदेखि ‘राइसा ह्याचरी एण्ड पोल्टी फर्म’ सञ्चालनमा आएको छ ।

हप्तामा अहिले ५ हजार नयाँ चल्ला उत्पादन गर्दै आएको र माग बढि आएमा दैनिक पनि चल्ला निकाल्ने योजना रहेको सञ्चालक द्धयले बताएका छन् । उनले आवश्यकता अनुसार लोकल कुखुराका सबै जात र प्रकारको उत्पादन एक थलोबाट गरिने पनि बताए । साथै उनीहरुले आफ्नो यो उद्योग चितवन पश्चिममा एकमात्र रहेको बताए ।

ह्याचरीबाट उत्पादित चच्लाहरू प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा जाने गरेका छन् । स्थानीय उत्पादनलाई जोड दिने उद्देश्यले लोकल कुखुरा उत्पादन सुरू गरेको उनीहरुले जानकारी दिएका छन् ।