२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

कोरोना भाइरस : नेपाल सरकारको अक्षम्य लापरबाही

काठमाडौं, २९ माघ । जनवरी १५ तारेखमा चीनबाट अमेरिका फर्किंदा मेडिकल ‘स्कृनिङ’ मा सकुशल देखिएका एक यात्रुमा चार दिनपछि कोरोना संक्रमण पुष्टि भयो । अमेरिकाले ‘ट्राभल एड्भाइजरी’ जारी गरेपछि फर्किएका ती यात्रु अमेरिकाको पहिलो कोरोना संक्रमित हुन् र हालसम्म अमेरिकामा यस्तो संक्रमितको संख्या एक दर्जन पुगेको छ ।

नेपालले अहिले अपनाइरहेको स्वास्थ्य सतर्कताको स्तर हेर्दा नेपाल पनि यस्तो घटनाको शिकार बन्न सक्ने जोखिम उच्च छ । अहिले कतिपय देशले गुपचुपरुपमा चीनबाट आएका सबै यात्रुलाई क्वारेन्टाइनमा राख्न सुरु गरेको खबर आउन थालेको छ । यस्तो अभ्यास चीन प्रशासित हङकङले पनि थालेको छ ।

तर, शक्तिशाली एवं स्रोत साधनसम्पन्न मुलुक चीनलाई कोरोना भाइरसको त्रासले आच्छु आच्छु पारिरहँदा छिमेकी मुलुक नेपालमा सरकारले अक्षम्य लापरबाही गरिरहेको छ । चीनको सरकारले पुरै शक्ति लगाउँदा पनि संक्रमण फैलिन रोकिएको छैन र मृतकको संख्या दिनदिनै बढेको बढ्यै छ । तर, नेपालमा भने सरकारी स्तरबाट लापरबाही भइरहेको छ ।

छिमेकी मुलुकमा यस्तो डरलाग्दो संक्रमण फैलिँदै गर्दा त्यसलाई रोक्न नेपालले के गर्दैछ त ? वुहानमा रहेका १८० नेपालीलाई समेत स्वदेश ल्याउन नसकेको नेपाल सरकारले कोरोनाको जोखिमबाट बच्नका लागि देशभित्र जुन रुपमा सतर्कता अपनाउनुपर्ने हो, त्यो अपनाउन सकेको देखिँदैन ।

तर, कोरोनाजस्तो डरलाग्दो संक्रमणलाई नेपाल भित्रिन नदिन यतिमात्रै सतर्कता पर्याप्त छ त ? सरकारको भाषामा भन्ने हो भने पर्याप्त मात्रै हैन, विश्वस्तरीय मापदण्डअनुसार नै काम भइरहेको छ ।

सरकारको यस्तो जवाफ सुन्दा लाग्न सक्छ, विमानस्थलमा यात्रीहरुमाथि कडा स्वास्थ्य जाँच हुन्छ, चीनबाट फर्किएकालाई त झन विशेष निगरानीमै राखिन्छ होला । तर, त्रिभुवन विमानस्थलमा त्यस्तो कुनै दृश्य देख्न पाइन्न, जसले कोरोनासँग साँच्चिकै नेपाल सरकार गम्भीर र सतर्क रहेछ भन्ने पुष्टि गरोस् । त्यहाँ शरीरको ज्वरो पत्ता लगाउने मेसिनले स्कृनिङ त गर्छ, तर सामान्य तापक्रम देखिए कसैले पनि विमानस्थलमा अतिरिक्त जाँच गराउनुपर्दैन ।

चीनसँगका अन्य नाकाबाट भने आवत–जावत रोकिएकाले खासै समस्या छैन । तर, भारतसँगका नाकामा भने यात्रीको स्वास्थ्य जाँच्ने प्रभावकारी संयन्त्र नै छैन । जसले स्थलमार्गबाट आउने पर्यटक र नेपाली यात्रीबाट पनि कोरोना भित्रिने जोखिम उच्च बनाएको छ ।अझ नेपालमा रोग फैलिहाले के गर्ने भन्ने स्पष्ट योजना पनि बनेको छैन । त्यस्ता बिरामी राख्न केही अस्पतालहरुमा शैया पहिचान गर्नेवाहेक अन्य प्रभावशाली प्रतिरक्षाको योजना नबनाई बसेको छ सरकार ।

साभार–अनलाईन खबर