सल्यान,
७ फागुन । सल्यानमा यो वर्ष ३० करोडको सुन्तला उत्पादन भएको छ। सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि र अनुकूल वातावरणका मिलेपछि सुन्तला उत्पादन राम्रो भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।
यस वर्ष सल्यानमा ३० करोड बराबरको सुन्तला उत्पादन भएकोमा २२ करोडको सुन्तला निर्यात भएकोे कार्यालयले जनाएको हो। योवर्ष दुई हजार हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख महेश आचार्यले बताए।
गत आर्थिक वर्ष एक हजार ४० हेक्टर क्षेत्रफलमा नौहजार १३ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो। उत्पादित सुन्तला मध्ये करिब ७५ प्रतिशत सुन्तला जिल्ला बाहिर निकासी हुने गरेको सूचना अधिकारी रेशमकुमार बस्नेतले बताए। जिल्लामा उत्पादित सुन्तलाले राम्रो बजार पाउन थालेपछि सुन्तला खेती तर्फ कृषकको मोह बढेको उनको भनाई छ।
जिल्लामा झण्डै ७ सय २ घरधुरीले व्यवसायिक सुन्तला खेती गर्दै आइरहेका छन्। सल्यानमा उत्पादित सुन्तला दाङ, बुटवल, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरसम्म जाने गरेको छ।