सल्यान,
७ फागुन । सल्यान जिल्लाको कपुरकोटमा भेटिएका दुई वटा रतुवालाई जंगलमा छाडिएको छ । मंगलबार कपुरकोट वडा नम्बर ३ को मुलाबारी सामुदायिक वनमा स्थानीय जनप्रतिनिधि, प्रहरी, वन कार्यालयका प्रतिनिधि र पत्रकारलगायतको रोहबरमा मंगलबार रतुवालाई जंगलमा छाडिएको हो ।
कपुरकोटको चोरखोलामा घाइते अवस्थामा एउटा रतुवा सोमबार भेटिएको सबडिभिजन वन कार्यालय कपुरकोटले जनाएको छ ।
यस्तै, कपुरकोट ३ कै कालिका माविको कक्षा कोठामा अर्को रतुवा भेटिएको थियो । प्रहरी चौकी कपुरकोट र वन कार्यालयका कर्मचारीहरुले दुई वटै रतुवाको उद्धार गरेको सहायक वन अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो ।
घाइते रतुवाको पछाडिको दुवै खुट्टा र मुखमा चोट लागेको थियो । घाइते रतुवाको पशु सेवा शाखा कपुरकोटमा उपचार गरिएको र त्यो रतुवासहित दुवै रतुवालाई जंगलमा छाडिएको वनरक्षक डिलबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
शिकार गर्ने कुनै व्यक्ति वा समूहले रतुवालाई घाइते बनाएको हुन सक्ने वन कार्यालयले जनाएको छ ।