काठमाडौँ,
८ फागुन । संचारमन्त्री गोकुल बाँस्कोटाले कमिसनका लागि डिल गरेको अडियो टेप बाहिरिदाँ पनि समाचार लेखेर पत्रिकाले छाप्न तयार नभएपछि नयाँ पत्रिका दैनिकका पत्रकार पुष्प ढुंगानाले पदबाट राजिनामा दिदै पत्रकारिताको यात्रामा ब्रेक लगाएको बताएका छन्।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको ७० करोडको घुस काण्डको अडियो खुलासा भएको थियो । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ घुस काण्ड सार्वजनिक भएको हो । बुधबार राती यसप्रकरणको अडियो टेप पाएका उनले लेखेको समाचार पत्रिकाले छाप्न नमानेपछि उनले सामाजिक संजालमा लेखेर राजिनामा दिएको उल्लेख गरेका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन् – “मेरो पत्रकारितामा निकै नमिठो अनुभव, मन्त्रीको कमिशन अडियो पेश हुँदासम्म समाचार बनाउन सकिएन । ग्लानी यो अर्थमा कि मैले कसका लागि पत्रकारिता गर्दैछु । खरदारले सय रूपैया घुस खाएको समाचार लेखेर मन्त्रीको अनियमितता लुकाउन सकिँदैन । त्यसकारण पत्रकारिताको यात्रामा ब्रेक लगाएको छु।”