२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

शान्तिनगरमा रनिङ शिल्ड र अध्यक्ष कप सुरु

शान्तिनगर,
८ फागुन । शान्तिनगर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विपी मावि बयाले सिमताराको व्यवस्थापनमा पातेटाकुरामा प्रतियोगिता सुरु भएको हो ।

बुधबार १२औं राष्ट्रपति कप रनिङ शिल्ड तथा दोस्रो गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले खेलका माध्यमबाट शारीरिक, मानसिक र बौद्धिक विकास गर्न आग्रह गरे । साथै खेल राष्ट्रिय पहिचानसँग पनि जोडिएको बताउँदै खेलको माध्यमबाट मुलुकलाई अन्तर्राष्ट्रिय जगतमा पनि चिनाउनुपर्ने बताए ।

खेल क्षेत्रमा पनि प्रसस्तै सम्भावना रहेको उल्लेख गर्दै पाण्डेले हरेक ग्रामीण बस्तीमा रहेका खेलाडीहरुको प्रतिभालाई उजागर गरी राष्ट्रिय प्रतियोगितासम्म पु¥याउन स्थानीय सरकारको अहम् भूमिका हुने उल्लेख गरे ।

साथै प्रदेश सरकारले आउँदो १० गतेदेखि बेलझुण्डीमा आयोजना गरेको एक्स्पोमा पनि हरेक विद्यालयले आफ्नो उपस्थिति जनाउन पनि उनले आग्रह गरे ।

कार्यक्रममा विशिष्ठ अतिथि तथा काँग्रेस नेता केशव आचार्यले खेलकुद क्षेत्रमा पनि राम्रो भविष्य भएकाले स्थानीय तहबाटै मजवुत खेलाडी उत्पादन गर्नतर्फ स्थानीय सरकार लाग्नुपर्ने अभिव्यक्ति दिए ।

शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ठ अतिथि दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी,

नेपाली काँग्रेसका नेता केशव आचार्य, शान्तिनगर गाउँपालिका उपाध्यक्ष मिथिला शाह, नेकपाका शेरबहादुर भण्डारी, विपी मावि बयाले व्यवस्थापन समिति अध्यक्ष शशीधर केसी, वडा नं. २ का अध्यक्ष फर्साराम डाँगीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मुलआयोजक समितिका संयोजक तथा ३ नम्वर वडा अध्यक्ष बुद्धिराम तिवारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रशासन शाखा प्रमुख कृष्ण कँडेलले गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गाउँपालिकामा रहेका विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्चपास र प्रमुख आतिथि तथा कार्यक्रमका अध्यक्षलगायतका अतिथिहरुलाई सलामी अर्पण गरेका थिए ।

विभिन्न जातीय भेषभूषामा सजिएका छात्रछात्राहरुले खेल मैदानमा आकर्षक प्रस्तुतीहरुसमेत देखाएका थिए । तीन दिनसम्म चल्ने खेलमा कम्तिमा गाउँपालिकाअन्तर्गतका साढे दुई सय खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा गाउँपालिकाअन्तर्गतका १० विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन् । प्रतियोगितामा महिला तथा पुरुष भालिबल, एथ्लेटिक्स र कबड्डीलगायतका खेलहरु रहेको आयोजकले बताएको छ ।