काठमाडौं,
९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सत्तामा पुगेपछि कम्युनिष्टहरुले आफैलाई सिध्याउने विश्वको इतिहास नेपालमा पनि दोहोरिने खतरा देखिएको बताएका छन्।
आज भक्तपुरमा कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी समृति प्रतिष्ठानको भवन शिलान्यास गर्दै प्रचण्डले कम्युनिष्टहरु सत्ता र शक्तिमा पुगेपछि आदर्शबाट विचलित हुने गरेको बताएका हुन्। ‘अहिले भइसक्यो भनेको होइन। मेरो भनाइलाई बढी नबुझियोस् । तर संकेत त त्यति राम्रो देखिएन नि आजभोलिु, उनले भने, ‘यसो घटना हेर्यो, मान्छेहरु कम्युनिष्टहरु त बिग्रिने बिग्रिनेतिर गए जस्तो छ भनिरहेका छन्।’
निवर्तमान संचारमन्त्री गोकुल बास्कोटाको कमिसन काण्डप्रति संकेत गर्दै प्रचण्डले कम्युनिष्टलाई सत्तामा पुगेपछि ढाल्न कुनै ठूलो शक्ति आवश्यक नहुने तर्क गरे । उनले कम्युनिस्टहरु सत्तामा पुगेपछि पद, प्रतिष्ठा लोभ लालचा, बिभिन्न खालका विकृती, विसंगति, भ्रष्टाचार लगायतका क्रियाकलापमा लिप्त हुने गरेको टिप्पणी गरे। प्रचण्डले हिजोको खालखण्डमा मृत्युलाई सामना गरेर जस्तोसुकै त्याग गर्न तयार हुने मानिसहरु शासन हातमा आएपछि बिस्तारै जनभावनालाई सम्मान गर्न नसक्ने परिस्थितीमा पुग्ने गरेको विश्वको इतिहास रहेको बताए।