२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

‘प्रदेश एक्स्पो २०७६’ को सम्पुर्ण तयारी पुरा

दाङ,
९ फागुन । दाङको बेलझुण्डीमा आयोजना हुन लागेको ‘प्रदेश एक्स्पो २०७६’ को तयारी सम्पन्न भएको छ । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव शङ्करप्रसाद खरेलले प्रदेशको समृद्धिमा टेवा पु-याउने एक्स्पोको ध्येय रहेको जानकारी दिए ।

यही फागुन १० देखि १२ गतेसम्म एक्स्यो आयोजना हुँदैछ । उनले एक्स्पो सफल बनाउन प्रदर्शनी कक्ष, व्यस्थापन, प्रचारप्रसार, विभिन्न स्थानमा अन्तरक्रिया, पत्रकार भेटघाटलगायतका कार्यक्रम भएको जानकारी दिए ।

एक्स्पोमा १२ जिल्लाका पहिचान र विशेषता झल्कने कक्ष समावेश हुने तथा १०९ स्थानीय तहले आफूले गरेका नमूना कामसमेत प्रस्तुत गर्नेछन् । एक्स्पोमा सरकारी र निजी क्षेत्रका गरी करिब ५०० कक्ष सहभागी हुने जनाइएको छ । ‘समृद्ध प्रदेश खुशी जनताको अभियान सफल पारौं’ भन्ने नाराका साथ प्रदेश सरकारले सम्पादन गरेका कार्यहरु, प्रदेशभित्रका नवीनतम प्रविधि र कार्यको जानकारी दिने, योग ध्यान र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पर्यटकीय झलक, उत्पादित वस्तु तथा खाद्य सामग्रीलगायतको प्रदर्शन गर्ने उद्देश्यले प्रदेश सरकारले एक्स्पोको आयोजना गरेको हो ।

सेवाप्रवाह सम्बन्धी जानकारीमूलक प्रस्तुति, विभिन्न ठाउँका कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, स्थानीय प्रविधि र उत्पादनको प्रदर्शनी, नव प्रर्बधन प्रविधिमा आधारित कक्ष एक्स्पोमा राखिने छ । एक्स्पोको तयारीका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद के.सीको संयोजकत्वमा मूल समारोह समिति र विभिन्न आठवटा उपसमिति गठन गरिएको हो ।