२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

मुस्कान सहितको यातायात सेवा

शरद रेग्मी,
तुलसीपुर १० फागुन । ट्राफिक प्रहरी कार्यालय दाङले मुस्कान सहितको सुरक्षित यातायात सेवाको अभियान सुरु गरेको छ । त्यसका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालयले तुलसीपुर बसपार्कमा आज शनिबार चालकलाइ अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरेको छ ।

अभिमुखिकरण कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रेम प्रसाद रेग्मीले चालकहरुलाई दुर्घटना न्युनिकरणका उपाय सहित यात्रुमैत्री सेवा प्रदान गर्न आग्रह गरे । ‘हवाइ सेवामा एयर होस्टेजले जसरी यात्रुहरुलाइ ढुक्क संगको यात्रा र मुस्कान छरीरहेका हुन्छन्, त्यसरी नै तपाइहरुले पनि मुस्कान सहितको यातायात सेवा दिनुहोला’—चालक र सहचालक तथा हेल्परलाइ अभिमुखिकरण दिंदै रेग्मीले भन्नुभयो । साथै उहाँले यात्रा तय गर्नुअघि सवारीसाधनको स्वास्थ्य चेकजाँच गरीनुपर्ने, मदिरा सेवन गरी सवारी नचलाउने, ओभरलोडको यात्रा नगराउने, ओभरस्पीडको यात्रा नगराउने, ट्राफिक नियमको पुर्ण रुपमा पालना गर्नुपर्ने विषयमा चालक र सहचालकलाई सुझाउनुभएको थियो ।


त्यसै अवसरमा बोल्दै उहाँले सहचालकलाई यात्रुहरुलाई ढुक्कसँग यात्रा गराउनकालागी तोकिएको समयमा खाना खुवाउने, खानाखाने स्थान र समयका विषयमा जानकारी गराउने तथा गन्तव्यमा पुग्ने समयका विषयमा पनि ढुक्क संग जानकारी गराउने विषयमा सुझाव दिनुभएको थियो ।

यसै अभियान अन्तर्गत ट्राफिक प्रहरी कार्यालय, पाँच नम्वर प्रदेश कार्यालय रुपन्देहीले जारी गरेको सुरक्षित यात्राका विभिन्न बुँदाहरु उल्लेख गरिएको पर्चा पम्प्लेट समेत यातायात व्यवसायीलाइ उपलव्ध गराएको थियो । सो पर्चामा सवारी चालकहरुलाइ अनुरोध, सभ्य नागरीकहरुलाइ अनुरोध, मोटरसाइकल चालक तथा साइकल चालकलाई अनुरोध शीर्षकमा धेरै सुझावहरु उल्लेख छन् । ती सुझावहरु पालना गर्न पनि ट्राफिक प्रहरीले अनुरोध गर्दै सनीवार तुलसीपुर बसपार्कमा फरक फरक रुटका चालकलाई खादा ओडाएर सम्मान सहित सुरक्षित यातायात सेवाकालागी आग्रह गरेको थियो, भने यात्रुहरुलाइ पनि आफुले पालना गर्ने सार्वजनिक यातायातका नितिनियमवारे जानकारी गराइएको थियो ।