२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

सातवटै प्रदेश भन्दा प्रदेश ५ उत्कृष्ट : मुख्यमन्त्री पोख्रेल

दाङ,
१० फागुन । दाङको बेलझुण्डीमा पाँच नम्बर प्रदेश स्तरीय एक्स्पो सुरु भएको छ ।

प्रदेश सरकारको आयोजनामा आजदेखि एक्स्पो सुरु भएको हो । एक्स्पोको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ ले सातवटै प्रदेशको अगुवाई गरेको बताए । ‘ हामीले योजनातर्जुमा गरेर बजेट तर्जुमा गर्न सफल भएका छौं’ उनले भने‘ यो सातवटै प्रदेशमा हामीले मात्रै यो अभ्यास गरेका छौं ।’ प्रदेश नं. ५ लाई मिनी नेपालका रुपमा लिईएको भन्दै उक्त प्रदेशको विकासले नै समग्र मुलुकको विकासमा फड्को मार्ने उनको भनाई थियो ।

उनले प्रदेश सरकार गठन भएको दुई बर्षमा सातवटै प्रदेश भन्दा उत्कृष्ट काम गरेको समेत बताए । साथै प्रदेश नं. ५ का सवै स्थानीय तहरुले अन्य प्रदेशको स्थानीय तहभन्दा उत्कृष्ट काम गरेको समेत बताए । ‘ प्रदेश नं. ५ ले सातवटै प्रदेशभन्दा बजेट परिचालनका हिसाबले उत्कृष्ट काम गरेको थियो’ उनले भने‘ प्रदेश नं. ५ भित्रका सबै स्थानीय तहले पनि उत्कृष्ट रुपमा बजेट परिचालन गरेका थिए ।’उनले प्रदेश एक्स्पोले प्रदेश नं. ५ को समृद्धिमा टेवा पुर्याउने समेत बताए ।

प्रदेश नं. ५ का आन्तरिक तथा कानुनमन्त्री कुलप्रसाद के.सी.को अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा मन्त्री के.सीले यो कार्यक्रमले जनता र सरकारलाई जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले स्वागत मन्तब्य ब्यक्त गर्दै दाङ दक्षिण एसियाकै ठूलो उपत्यकाभित्र पर्ने भएकाले यहाँ हरेक हिसाबले उत्तम जिल्ला भएको बताए ।

एक्स्पोमा प्रदेश नं. ५ का सवै जिल्लाले आफ्नो पहिचान झल्किने झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए । एक्स्पो तीन दिनसम्म चल्ने छ । प्रदेश नं. ५ ले स्थापना दिसवको अवसरमा प्रदेश स्तरीय एक्स्पो सुरु भएको हो ।