२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या बढ्दै

सिओल,
११ फागुन । दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएका मानिसको संख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन् ।

शुक्रबारसम्म २०४ व्यक्तिमा कोभिड–१९ भनिने उक्त भाइरसको संक्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप २२९ जनामा भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यो सँगै कुल ४३३ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोनाभाइरस प्रकोप ‘गम्भीर अवस्थामा प्रवेश गरेको टिप्पणी गरेका छन् । अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसँग भएको अधिकारीहरूले बताएका छन् ।

अहिलेसम्म दक्षिण कोरियामा दुई जनाको उक्त रोगका कारण मृत्यु भइसकेको छ । त्यहाँ मृतकको संख्या बढ्न सक्ने त्रास फैलिएको छ । डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई ‘विशेष निगरानी क्षेत्र घोषणा गरिएको छ ।

यसैबीच चीनसँग स्पष्ट सम्बन्ध नभएका स्थानमा पनि कोरोनाभाइरस संक्रमणका घटनाले अवस्थालाई थप चिन्तित तुल्याएको विश्व स्वास्थ्य संगठनका प्रमुखले बताएका छन् । उनले कोरोनाभाइरस नियन्त्रण गर्ने अवसर ‘साँघुरिँदै गएको’ चेतावनी दिएका छन् ।

चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा संक्रमण भएको र दुई हजार ३४५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर २६ देशमा एक हजार २०० जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको र शनिबारसम्म आठ जनाको मृत्यु भएको छ ।