२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

पानी सुविधा सँगै रगैंजा बजार विस्तारमा तिव्रता

प्रेम पुन,
रगैंजा ११ फागुन । करिब ४ बर्ष अघि सम्म शान्तिनगर गाउँपालिका वडा नं. ५ रगैंजामा पानीको हाहाकार जस्तै थियो । अन्य समय भन्दा गर्मीयाममा त झन पानिको समस्यावाट यहाँका स्थानीय आजित थिय । कुवा खन्दा पनि पानीको समस्या जस्ताको त्यस्तै थियो । जब वडा नं ५ कै बैंसामा पानी ट्यांङ्की निर्माण सँगै धनौरी खानेपानि समिती मार्फत घर–घरमा धारा पानि पुगेसँगै विगत ४ बर्ष यता देखि पानीको समस्या टरेको छ ।

२४ सै घण्टा पानीको सुविधा भएपछि पछिल्लो समय रगैंजा बजार विस्तार हुँदै गएको छ। पश्चिमदाङको हापुरे पछिको दोस्रो बजारको रूपमा रगैंजा बजार विस्तार हुदै गएको हो । रगैंजा बजार अहिले व्यापार र आवसीयका लागि मानिसको आकर्षणको रूपमा अगाडि बढेको छ । रगैंजाले बजार विस्तारको तिव्रता लिएको छ। छोटो समयमा रगैंजा बजारले तिव्रता लिएको स्थानिय बताउँछन ।

सामान्य कामको लागि पनि तुलसीपुर बजार जानुपर्ने बाध्यता अहिले टरेको छ । अहिले रगैंजा बजारमा प्राय सुविधा पाइन्छ । यसले गर्दा आसपासका गाउँलाई सजिलो भएको पाइएको छ । रगैंजा सँगै वडा नं ५ का अन्य गाउँका पानिको समस्या पनि समाधान हुँदै गएको छ । धनौरी खानेपानि मार्फत वडा नंं. ५ का करिब ९० प्रतिशतको घरमा शुद्ध खानेपानिको सुविधा उपलब्ध रहेको शान्तिनगर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गिरीराज बस्नेतले जानकारी दिए ।

धनौरी खानेपानिका अध्यक्ष समेत रहेका बस्नेतले वडा नं. ५ का रगैंजा, बैंसा, ढोरेनी, बाघढोई, रजघटुवा सम्म शुद्ध खानेपानीको धारा घर–घरमा पुगेको बताए । अध्यक्ष बस्नेतका अनुसार अव काँसिपुर गाउँ सम्म मात्र धारा जोड्न बाँकि रहेको छ । आगामी बर्ष काँसिपुर गाउँमा शुद्ध खानेपानि पुर्याउने लक्ष्य रहेको उनले बताए ।

फाइल फोटो

सिँचाईको असुविधामा रहेका यी गाउँमा यहिँ धाराको पानी मार्फत तरकारी खेती गर्न सजिलो भएको छ । अध्यक्ष बस्नेतले भने–‘अहिले घर–घरमा धाराको सुविधा हुँदा आलु, प्याज, काउली, बन्दागोपी, टमाटर, धनियाँ जस्ता तरकारी बेमौषमी मकै खेती जस्ता अन्य खेती गर्न सजिलो वनाएको छ ।’ वडा नं. ५ मा कृषक लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिन पनि कृषक लक्षित कार्यक्रम सञ्चालन गरिने उनले बताए । विभिन्न ठाउँमा खेर गईरहेको पानीलाई सदुपयोग गरेर सिँचाईमा परिणत गर्ने लक्ष्य रहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

बैंसा र अन्य ठाउँमा खेर गइरहेको पानीलाई जलाशय निर्माण गरेर कृषकलाई सिंचाईको सुविधा उपलब्ध गराउने उनले बताए । खोलामा पानी नहुँदा यहाँका खेतहरू यतिकै बाँझो हुने भएकाले आफुले जलाशय निर्माण गर्ने सोच राखेको उनको भनाई छ । खेर गइरहेको पानी जलाशयमा जम्मा गरेर खेतीपातीमा सिंचाई गरिनेछ ।